काठमाडाैं, ३ असार । ओमनले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ। ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव गरेका हुन् ।
भेटमा मन्त्री सादीले राजदूत पराजुलीसमक्ष भने, ‘नेपाली डाक्टर र नर्स ओमनलाई चाहिएको छ । त्यसका लागि राजदूतावासले आवश्यक सहयोग गर्नु पर्यो।’अहिले ओमनले भारत लगायतका देशहरुबाट डाक्टर र नर्स लैजाने गरेको छ। ‘नेपालबाट पनि डाक्टर र नर्सहरु ओमनमा ल्याउनुपर्छ’ मन्त्री सादीले भने, ‘नेपाल पनि ओमनका लागि स्रोत देश बन्न सक्छ।’
भेटमा मन्त्री सादीले नेपाल र ओमनसँग स्वास्थ्य क्षेत्रबाट पनि सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताएका छन्। ‘हामी देशका स्वास्थ्य र त्यसका प्रविधि साटासाट र अनुभव पनि आदानप्रदान गर्न सक्छौं,’ भेटमा मन्त्री सादी भने।
जवाफमा राजदूत पराजुलीले जिटुजीमार्फत नेपाली डाक्टर र नर्सहरु ओमन ल्याउन सकिने बताइएकी थिइन्। नेपाल र ओमनबीच छिट्टै श्रम समझदारी हुँदैछ। कतिपय विषय त्यसमा नै समेट्न पनि सकिने राजदुत पराजुलीले बताएकी छिन्।



लाेकपाटी न्यूज

