अर्थतन्त्रमा छाडापन हावी भयाे : जनार्दन शर्मा

Janardan Sharma
लाेकपाटी न्यूज

काठमाडौं, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद जनार्दन शर्माले अर्थतन्त्रमा छाडापन हाबी भएको बताएका छन्। बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै उनले विश्वव्यापीकरण लगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । उनले अखाद्य वस्तु आयातमा रोक लगाउन पनि माग गरेका छन् ।

उनले सञ्चार मन्त्रालयलाई नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन आग्रह गरे । उनले प्रविधिको नाममा ग्राहकलाई दुःख दिने काम बन्द गरी प्रविधिको विकल्प प्रविधि खोजी समस्या समाधान गर्न आग्रह गरे ।
फ्रिक्वईन्सी बाँडफाँडबारे समय–समयमा चर्चा हुने गरेको भन्दै उनले नेपाल टेलिकम जस्तै अर्को सरकारी संस्था बनाउन सरकारलाई सुझाव दिए । उनले असंलग्न परराष्ट्रनीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

असंलग्न परराष्ट्रनीति स्पष्ट नभएकाले जनता दोधारमा परेको भन्दै उनले सरकारको दृष्टिकोण स्पष्ट पारिनुपर्ने तर्क गरे। कतै पनि नढल्किईकन दृढतापूर्वक राष्ट्रिय हितमा उभिनुपर्नेमा उनले जोड दिए । विभिन्न देशका लागि नियुक्त गरिएका राजदुतले गर्ने काम, कर्तव्य र अधिकार तथा नियुक्तिको मापदण्डमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गरे ।

नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा पनि त्यसबारे परराष्ट्रमन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उनले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए ।

उनले भने, “नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्नुभयो । यसको बारेमा परराष्ट्रले के गर्यो खै ? हामीले केही जानकारी पाएनौँ । परराष्ट्रलाई केही थाहा छ कि छैन ? उहाँहरु त्यसरी बोल्ने हो कि होइन ? कसलाई हामी थुन्छौ कसलाई हामी के गर्छौं भनेर भन्न पाइन्छ कि पाइँदैन ? यसको बारेमा के गर्यो परराष्ट्रले जनताले थाहा पाउनुपर्दैन त्यो कुरा ?” नेपाल कुनै देशको निर्देशनमा नचल्ने भन्दै उनले विदेशी कुटनितिकज्ञहरुबाट हुने हस्तक्षेपकारी कार्य रोक्न माग गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्