शहिदकाे सपना साकार पार्छाै‌ं : अध्यक्ष प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडाैं, असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने र शहिदकाे सपना साकार पार्ने नेकपाको लक्ष्य भएको बताएका छन्।

सोमबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शहिदहरूको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको बताएका हुन् ।

अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताए। उनले दुई पार्टीबीचको एकता सिद्धान्तहीन ढंगले नभएको पनि बताए।

उनले भने, ‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रष्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ। कतिपय मानिसहरू त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज पनि हुन सक्छन्। तर हाम्रो पार्टीको दुवै धारका नेताहरूले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काइसौैं शताब्दीको जनवाद दुबैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ।’

आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानु पर्ने पनि प्रचण्डले दोहोर्‍याए। दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सुरूआत भएको दोहोर्‍याउँदै निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वान गरे।