जनकपुर, २ असार। प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि आइतबार प्रस्तुत गरेको बजेट विपक्षी सांसदको अनुपस्थितिमै टेबल भउको आरोप छ। विपक्षी नेकपाका सांसदहरु बाहिर गएपछि सत्तासीन सांसदहरुको मात्रै उपस्थितिमा बजेट टेबल गरिएको हो।
सत्ता पक्षले विपक्षी सांसदहरु निर्धारित समयमा नआएकाले तोकिएको समयमा बजेट टेबल गरिएको बताएका छन्। विपक्षी सांसदहरुले भने आफूहरु केहीबेरका लागि छलफल गर्न बाहिर जाँदा सत्ता पक्षले बजेट टेबल गरिसकेको आरोप लगाएका छन्।
सत्ता पक्षले विपक्षी सांसदको अनुपस्थितिमै बजेट टेबल गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपाका सांसदहरुले आपत्ति जनाएका छन्। प्रदेश २ मा समाजवादी पार्टी र राजपा सरकारमा छन् भने नेकपा र नेपाली कांग्रेस प्रतिपक्षी बेञ्चमा छन्।
आइतबार साँझ ६ बजे बजेट प्रस्तुती सकिएपछि आधा घण्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो। यो समयमा विपक्षी दलका सांसदहरु बजेटबारे सामान्य छलफलका लागि आ–आफ्नो संसदीय दलको कार्यालयमा पुगेका थिए। निर्धारित आधा घण्टाको समय सकिएपछि पनि प्रतिपक्षी दलका सांसदहरु छलफलमै रहेका थिए।प्रमुख प्रतिपक्षी नेकपाले भने आफूहरुको अनुपस्थितिमै बजेटलाई टेबल गराउनुलाई ‘नयाँ नजिर’बसाएको प्रतिकृया दिएको छ।
नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले सरकारले आफ्नै सांसदहरुलाई मात्रै राखेर बजेट टेबल गराउनु आफूहरुलाई पेपेको प्रतिकृया दिए। आफूहरु संसदीय दलको कार्यालयमा बसेर बजेटबारे छलफल गरिरहँदा केहीबेरका लागि थप समय प्रदेशसभा बैठक स्थगित गराउनुपथ्र्यो’ नेता मण्डलले भने, ‘तर केही समय मात्रै ढिलो हुनेवित्तिकै टेबल गराउनु विपक्षी सांसदहरुमाथिको अपमान हो।’
नेकपा सांसद मण्डलले यो अपमानको जवाफ माग्ने र ठोस जवाफ नआए संसद अवरुद्व गर्ने चेतावनीसमेत दिए। प्रदेशसभाको बैठक सोमबार दिउँसो १ बज बस्ने छ।



लाेकपाटी न्यूज

