चुनाव जितेपछि धर्ती छाेड्याैं, आउने चुनावमा भासिन्छौं : लेखनाथ न्याैपाने

Lekhnath Nyaupane
लाेकपाटी न्यूज

काठमाडौं, १ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले चुनाव जित्दा धरती नै छोडेको र कार्यशैलीमा सुधार नल्याए अर्को चुनावमा भासिने सङ्केत देखिएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर एउटा पुषले मात्र जाडो नजाने भन्दै पार्टीका ठूला नेताहरुलाई सचेत रहन भनेका छन्। उनले भनेका छन्, ‘सबैले बेलैमा अलि गम्भिर भएर सोंचौं है, एउटा पुषले मात्र जाडो जाँदैन ।’

उनले स्टाटसमा लेखेका छन्, ‘पार्टीका ठूला नेता कमरेडहरु, पार्टीको तर्फबाट प्रधानमन्त्री र मन्त्री बन्नुभएका सम्माननीय र माननीयज्यूहरु र सांसद मित्रहरु ! हाम्रो लोकप्रीयता ओरालो लाग्न थाल्यो । हामीप्रतिका विरोध, असन्तुष्टि र पूर्वाग्रहहरु संगठित हुन थाले। विरोधी वर्गलेले हाम्रो विरोध गर्नु उसको धर्म हो । तर, हामीलाई मतदान गरेका, हामीबाट अलि बढी अपेक्षा पनि गरेका र मुद्दा र चरित्रका आधारमा समर्थन र विरोध गर्ने पंक्ति पनि विरोधी वर्गतिर उभिएर हाम्रो विरुद्ध लाग्नु राम्रो संकेत होइन । कुनै योजना बनाउँदा, नयाँ विषयबारे निर्णय लिँदा, कानून बनाउँदा वा नेताको हैसियतमा अभिव्यक्ति गर्ने सन्दर्भमा कतै हाम्रो ढंग पुगेन कि वा चुनाव जितेको अर्थमा अलि मातियो कि भनेर पछाडि फर्केर अलिकति समीक्षा गरौं ।’

उनले आत्मसमीक्षा गरेर हेर्न सबैलाई अनुरोध गरेका छन्। ‘उनले स्टाटसमा अझै लेखेका छन्, निर्णय प्रक्रिया, वजेट विनियोजन र अभिव्यक्ति शैलीमा जनपक्षीयता भल्कने गरी काम गर्ने बानी बसालौं । सम्माननीय र माननीयप्रतिको विरोधको अर्थमा नबुझियोस्, स्थिति खराब दिशातिर जाँदैछ । प्रतिपक्ष इमान्दार, नैतिकवान र जनपक्षीय भएको भए हाम्रा दिन थप तीव्रतामा खराब हुने थिए ।’