‘अहिले धेरै भन्दिनँ, वाइडबडीको छानविन हुँदैछ’

KP sharma oli
लाेकपाटी न्यूज

काठमाडौं १ असार। वाइडबडी प्रकरणबारे बेलाबखत विरोधाषपूर्ण अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयमा फेरि मुख खोलेका छन्।

यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बचाऊ गर्दै बोल्ने क्रममा प्रधानमन्त्री ओलीले तत्कालीन मन्त्री अधिकारी निर्दोष रहेको बताएका थिए। छानविन हुँदै गरेको विषयमा प्रधानमन्त्रीले कसैलाई दोषी वा निर्दोष किटान गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो।

यसै सन्दर्भमा युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलमा आइतबार पत्रकारले वाइडबडीबारे टुच्च प्रश्न सोधिहाले। जवाफमा उनले कसैलाई दोषी वा निर्दोष भनेनन्, बरु छानबिन भइरहेको विषयमा आफूले नबोल्ने बताउँदै सन्तुलित हुने कोसिस गरे।

‘वाइडबडी चैं छानबिन हुँदैछ। छानबिन हुँदै गरेका कुरामा मैले धेरै के भनौं ?’ प्रधानमन्त्री ओलीले भने, ‘गैरजवाफदेही पाराले बढ्यो भ्रष्टाचार, फलानाले खायो, भनिँदैछ। तर, मैले परिणाम नआइकन कसैका बारेमा भन्न मिल्दैन।’ प्रधानमन्त्रीले थपे, ‘छानबिन हुँदैछ, जो दोषी छ, ऊ उम्किन पाउँदैन। दोषीमाथि कारबाही हुन्छ।’

फ्रान्सले आफ्नो आकाशमा नेपाली विमानलाई उड्न प्रतिबन्ध लगाएको धेरै समय बितिसकेको छ। यसअघि डाबोस गएका बेला प्रधानमन्त्री ओलीले स्विटजरल्याण्डबाटै फ्रान्सलाई प्रतिबन्ध हटाउन आग्रह गरेका थिए। फ्रान्सले नेपाललाई विमान चाहिँ बेच्ने, तर त्यही विमान उसको आकाशमा उड्न अयोग्य छ भन्नु न्यायोचित नहुने प्रधानमन्त्री ओलीको तर्क थियो।

यसपटक फ्रान्सको औपचारिक भ्रमणमा भएका बेला प्रधानमन्त्री ओली यो प्रतिबन्ध फुकाउने अनुमान गरिएको थियो। तर, प्रधानमन्त्रीको भ्रमणमा यसबारेमा फ्रान्ससँग कुराकानीसम्म भएता पनि कुनै औपचारिक सहमति भएन। तथापि प्रधानमान्त्री ओलीले युरोपको आकाशमा नेपाली विमानहरु उड्ने आश्वासन दिएका छन्।

आइतबार विमानस्थलमा प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा जहाजहरु यरोपियन आकाशमा उड्नेछन्। विश्वका जुनसुकै आकाशमा पनि उड्ने छन्। त्यो उड्ने प्रवन्धका लागि हामी तयारी गर्दैछौं। यसपल्ट पनि हामीले गम्भीरताका साथ कुरा उठायौं।’