दोलखा, १ असार । सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ। पुलको दुबैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन।
गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्रयाक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोड लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो। दोलखाको व्यापारिक केन्द्र सिंगटी बजार पुग्नुभन्दा झन्डै चार किलोमिटरअगाडिको बन्चरेभन्दा डेढ किलोमिटर तल तामाकोसी नदीमा बन्दै गरेको पुलसम्म पुग्न सडक खन्ने काम विभाग आफैँले गरेको थियो।
५० लाख बजेट खर्चेर विभागले पुलसम्म पुग्ने झन्डै डेढ किलोमिटर बाटो बनाएपछि बल्ल स्थानीयले थाहा पाए खोलामा पुल बन्दै छ भनेर। त्यसअघि न सडकको ट्र्याक नै थियो, न त पुल हुँदै पुग्ने गन्तव्यका बारेमा चर्चा नै।
सडक विभागले ०७१ मा ६० मिटर लामो आर्क डिजाइनको पुल बनाउन लगाएको ठेक्काअनुसार अहिले काम भइरहेको छ। ठेकेदार कम्पनीले भूकम्प, नाकाबन्दी र पुलसम्म पुग्ने सडककै कारण काममा ढिलाइ भएको जनाएको छ। बन्चरेबाट उक्त पुलसम्म पुग्ने सडक अहिले पनि पूरै अस्तव्यस्त छ। सो बाटो भएर कुनै पनि सवारीसाधन चल्ने अवस्थासमेत छैन। कन्काई इन्टरनेसनल बिल्डर्सले दोलखाको रिमाल निर्माण सेवालाई सब कन्ट्र्याक्टरका रूपमा कामको जिम्मेवारी सुम्पेको थियो।
दोलखास्थित रिमाल निर्माण सेवाका प्रमुख हेमराज रिमालले दुवैतर्फ आवत–जावत गर्ने एप्रोच सडक नभएकै कारण काममा ढिलाइ भएको बताए। त्यसबाहेक ठेक्का सम्झौता भएलगत्तैको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दीले समेत काममा उल्लेख्य प्रगति हुन नसकेको रिमालको दाबी छ। स्थानीय बुधवीर थामीले आफूहरूले धेरैपछि मात्रै पुल बन्न लागेको खबर थाहा पाएको सुनाए। सुरुमा सडक नै नभएको ठाउँमा पुल बनाउन लागेको देख्दा आफूहरू निकै अचम्ममा परेको उनको भनाइ छ।
तीन महिनामा पुल निर्माण सकिने
अहिलेसम्म गुमुखोला पुल निर्माणको भौतिक काम ६० र आर्थिक प्रगति १५ प्रतिशत मात्रै पूरा भएको छ। सडक विभागअन्तर्गतको पुल महाशाखाका इन्जिनियर पुरुषोत्तम भण्डारीले पुल निर्माणको जटिल काम आर्क विस्तार भइसकेको जानकारी दिए। निरन्तर काम हुने हो भने दुईदेखि तीन महिनासम्ममा काम सम्पन्न हुने उनले बताए। इन्जिनियर भण्डारीले पुल ठेक्का लाग्दा उक्त ठाउँमा सडकको ट्रयाक नै नभएको स्विकार्दै त्यसबारे आफूलाई जानकारी नरहेको बताए।
‘विभागले स्वीकृत कार्यक्रमका आधारमा ठेक्का लगायो, त्यसपछि व्यवसायी छानिए, हामी काममा लाग्यौँ अरू जानकारी छैन,’ उनले भने। उनका अनुसार दुई वर्षअघि नै ठेक्काको म्याद सकिए पनि एक साताअघि भएको नियमावलीको सातौँ संशोधनका आधारमा म्याद थपको प्रक्रिया अघि बढ्नेछ। कालिञ्चोक गाउँपालिका–४ गुमुखोलाबाट गौरीशंकर गाउँपालिका २ जुँगु तर्ने पुलबाट पछिल्लो समय स्थानीय तहहरूले बजेट विनियोजन गरी नाम्दु क्षेत्रपा सडकको एबो भन्ने ठाउँ र लामोसाँघु–जिरी सडकखण्डको सिद्धाथानसम्म पहुँच पुग्ने गरी सडकको ट्र्याक खनिरहेका छन्। सडक निर्माणको काम भइरहेको गौरीशंकर गाउँपालिका ४ का वडाध्यक्ष प्रह्लाद कार्कीले जानकारी दिए।
पुल निर्माणबारे भौतिक मन्त्रालयका सचिव नै अनभिज्ञ
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुल बनिसकेपछि त्यसको प्रयोग गर्नुको विकल्प नरहेको बताए। उनले सो ठाउँमा महँगो र आधुनिक पुल बन्ने कार्यक्रम कसरी र्पयो भन्नेमा आफू अनभिज्ञ रहेकोसमेत जानकारी दिए। ‘अब पुल निर्माण सम्पन्नको तयारीमा पुगिसकेपछि त्यसबारे बहस गर्नु कुनै अर्थ छैन,’ कार्कीले भने। पुलको अधिकतम प्रयोग गर्न स्थानीय तह सडक निर्माणमा सक्रिय हुनुपर्ने उनको भनाइ छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।



लाेकपाटी न्यूज

