काठमाडौं, ३२ जेठ । नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिनुपर्ने बताएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् । उनले भने, “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।”
सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।” उनले भने ।
मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । “आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।” मानन्धरले भने ।
मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो । प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी समेत मानन्दधरले दिएका छन् । उनले भने, “म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो ।”
सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ । बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ ।
क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा प्रमूख प्रतिपक्षी दलका नेता तथा सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए । कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाई छ । विधेयक फिर्ता भएन भने काठमाडांै जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी छ । प्रधानले मन्त्री बाँस्कोटा धर्म संस्कृतिबारे अनविज्ञ हुनु दुर्भाग्य भएको बताए ।
गुठी विधेयककै कारण संघीयता समेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयता विरोधीको रुपमा देखा परेको जिकिर गरे । ६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाए ।
ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको जिकिर गरे । उनले भने, “गुठी विधेयक फिर्ता गर्नुपर्छ । फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौं । ४ गतेपछि के हुन्छ हेर्दै जानुस् ।” उनले भने ।
साक्षात्कारमा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए । गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाब उनले दिएका छन् । उनले भने, “गुठी भनेका हाम्रा पूर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो ।”



लाेकपाटी न्यूज

