अब तपाईंकाे सवारी मोबाइलबाटै पार्किङ गर्नुस्

Smart Parking
लाेकपाटी न्यूज

काठमाडौं, ३२ जेठ। यदि तपाईं सवारी लिएर न्युरोड जाँदै हुनुहुन्छ भने सवारी चालकका लागि खुशीको खबर छ। अब तपाईं पार्किङको चिन्ता लिनु पर्दैन किनभने आइतबारदेखि तपाईंले घरबाटै आफूलाई आवश्यक र उपयुक्त पार्किङ स्लट बुकिङ गर्न सक्नु हुनेछ। यसले न्युरोडमा पुगेर पार्किङ खोज्दै भौतारिनुपर्ने समस्या हट्ने दावी गरिएको छ।

काठमाडौंको व्यस्त बजार न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको सुरुआत भोलिबाट हुँदैछ। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्युरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवा शुरु गर्न लागेको हो।

व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो। यसको उद्घाटन आइतबार नै मेयर विद्यासुन्दर शाक्यले गर्दैछन्।

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ। ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ। अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन्।

ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन्। त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएका छन्। उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन्।

महानगर क्षेत्रका पार्किङ स्थललाई क्षेत्र अनुसार शुल्क निर्धारण गरिएको छ। न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायत भित्री सहरी क्षेत्र क्षेत्र नम्बर २ मा पर्छन्। त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्करोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो। रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ। सेवाका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ।

काठमाडौंमा भएका सवारी साधनमध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन्। बाँकी समय पार्किङ गरिएका हुन्छन्। त्यसैले पार्किङको समस्या बढेको हो। पहिले सवारी किन्न सक्ने परिवारमा एउटा मात्र सवारी साधन हुन्थ्यो। तर, पछिल्लो समय एकै घरमा एक भन्दा बढी सवारी साधन हुन थालेका छन्। अब परम्परागत पार्किङले मात्र समस्या सुल्झने अवस्था छैन। यसका लागि प्रविधिमा आधारित व्यवस्था गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

न्युरोड क्षेत्रमा व्यवस्थित पार्किङ नहुँदा आवागमन अस्तव्यस्त हुने गरेको छ । त्यसक्षेत्रमा किनमेलका लागि जाने उपभोक्ता सवारी पार्किङ स्थान नपाएर हैरान हुने गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्