एकै अस्पतालका १ सय ७५ चिकित्सकले दिए सामूहिक राजीनामा

doctor
लाेकपाटी न्यूज

एजेन्सी। भारतमा चिकित्सकविरुद्ध हुने हिंसाको जाँच गर्न कानून बनाउने माग गर्दै हड्ताल गरेका पश्चिम बंगालका विभिन्न अस्पतालबाट ३ सय चिकित्सकले राजीनामा दिएका छन्। तीमध्ये कोलकाताको एसएसकेएम अस्पतालका मात्रै १ सय ७५ चिकित्सकहरुले सामुहिक राजीनामा दिएका हुन्।

भारतीय मेडिकल एसोसियसनले १४ जुनदेखि भारतभर विरोध प्रदर्शन सुरु गरेको कार्यक्रमलाई थप संघर्षका साथ अगाडि बढाउने भएको छ। उसले १७ जुनदेखि देशभर हड्ताल गर्न चिकित्सकहरुलाई आह्वानसमेत गरेको छ। एसोसियसनले अस्पतालमा चिकित्सकविरुद्ध हुने हिंसाको जाँच गर्न कानून बनाउने माग गर्दै यो हड्ताल आह्वान गरेको हो । एसोसियसनले यसलाई उल्लघंन गर्नेलाई कम्तिमा पनि सात वर्षको जेल सजाय हुनु पर्ने जनाएको छ।

चिकित्सकहरुले बंगालमा मुख्यमन्त्री ममता बनर्जीसँग ६ विभिन्न बुँदामा माग राखेका छन्। यसमध्ये उनीहरुको मुख्य माग चिकित्सकविरुद्धको बनर्जीको बयान कुनै सर्तविना फिर्ता हुनु पर्ने रहेको छ। उनीहरुले अस्पतालमा सशस्त्र प्रहरी हुनुपर्ने, चिकित्सकमाथि आक्रमण गर्नेलाई सजाय हुनुपर्ने लगायतका माग राखेका छन्।

११ जुनमा बंगालको एक मेडिकल कलेजमा जुनियर चिकित्सकहरुमाथि आक्रमण भएको थियो। ममताले चाहिँ यसलाई भारतीय जनता पार्टीको षडयन्त्र भएको बताएकी थिइन्।