काठमाडौं, ३१ जेठ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकारी कार्यालयमा केही दलाल सल्बलाएको बताएका छन्। शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलनलाई सम्वोधन गर्दै खनालले आफ्नो प्रभाव जमाउन सरकारी कार्यालयमा दलाल सल्बलाएको बताएका हुन्।
‘नेपाल प्रहरीमा मात्र होइन, सरकारी वकिलदेखि अन्य सरकारी कार्यालयमा केही दलाल प्रभाव जमाउन सलबलाएका छन्,’ उनले भने, ‘यिनलाई निमिट्यान्न पार्नुपर्छ। नेपाल प्रहरीले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु गर्छ।’ उनले आफू निःस्वार्थ रुपमा अघि बढिरहेको बताउँदै प्रहरी संगठन नमुनाका रुपमा प्रस्तुत हुनुपर्ने बताए। नेपालको सुरक्षा निकायको व्यवसायिकतामाथि शंका नगर्न पनि उनले आग्रह गरे। प्रहरी इन्टेलिजेन्स र इभिडेन्स बेस्ड पुलिसिङमा नचुक्ने उनको भनाइ छ।
‘चाहे राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय स्तरमा हामीले एउटा सन्देश के दिएका छौं भने नेपाल प्रहरी पूर्ण रुपमा व्यवासायिक छ’, खनालले भने, ‘दक्षिण एसियाली कार्यक्रम होस् या यूएन र इन्टरपोलको कार्यक्रम नै किन नहोस्, यो कुरा स्पष्टसँग राखेका छौं।’
उनले प्रहरीमा पर्याप्त सुधार पनि भइनसकेको बताए। ९५ प्रतिशतभन्दा बढी मुद्दामा सफल अनुसन्धान भएको उल्लेख गर्दै एकाध घटनाले सिंगो संगठनको छवि धुमिलिएको दाबी गरे। उनले भने, ‘प्रहरी भइसकेपछि अब बद्नियतमा सौलियत पनि हुँदैन।’ उनले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि भइरहेको ३ महिने अभियानको पनि स्मरण गराउँदै समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावकारी बन्दै गएको सुनाए।



लाेकपाटी न्यूज

