पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न निर्देशन

Samiti
लाेकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल निर्माता कम्पनीलाई कारवाही गर्न निर्देशन दिएको छ। उक्त पुल निमार्णको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो। काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरी निर्माण अघि बढाएको निष्कर्ष निकाल्दै समितिल पप्पु कन्स्ट्रक्सनमाथि कारवाही गर्न निर्देशन दिएको हो।

समितिले यही जेठ २ गते पुलको स्थलगत अवलोकन तथा अनुगमन गरेको थियो। समितिले प्रतिवेदनको निष्कर्षमा पप्पु कन्स्ट्रक्सनमाथि कारबाही गर्न निर्देशन दिएको हो। निष्कर्षको पाँचौँ बुँदामा कारबाहीको सिफारिस गरेको छ। त्यस्तै उक्त पुलको आयोजना निर्माण पूर्वतयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्नेमा त्यसो नगरिएको उल्लेख गरेको छ। ‘पुल निर्माणका क्रममा तीनकुने खण्डमा निर्मााण गरिएको संरचनाले मानवीय दुर्घटना हुने सम्भावना देखिएकोले त्यस्ता संरचनाहरुको तत्काल व्यवस्थापनका लागि पनि निर्देशन भयो’ प्रतिवेदनमा भनिएको छ।

त्यस्तै अनुगमनका क्रममा पुल निर्माणका लागि नदीमा ठड्याइएका फलामका फर्माले बस्ती डुबानमा परेको भन्दै फर्मा हटाउनसमेत निर्देशन दिएको छ। आयोजना निर्माणपूर्व सडक विस्तार आयोजनाले पूर्वतयारी नगरेको, ढल, खानेपानीको पाइप, बिजुलीको पोल हटाउनै ६ महिना लागेको र सोही कारण काम समयमै सुरु हुन नसकेको उल्लेख गरेको छ। पुलको समस्या समाधानका लागि इन्जिनियरिंग अध्ययन संस्थानमा डिजाइन पठाएकोमा त्यहाँबाट परिमार्जन भई हालसम्म प्राप्त हुन नआएको उल्लेख गरेको छ।

त्यस्तै पप्पु कन्स्ट्रक्सनले निर्माधाधीनको पुलको तीनवटा पाइल्समा गम्भीर त्रुटि देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिए पनि व्यवसायीले निर्देशन लत्याई पुलको सबस्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइएको छ।

उक्त पुल अरनिको राजमार्गको तीनकुनेस्थित बाग्मती नदीको बायाँतर्फ निर्माण भइरहेको छ। पुलको लम्बाइ ८६ मिटर र चौडाइ १७.२० मिटर रहेको छ। पुलको २९.५ मिटर गहिरो (लम्बाइ)का १६ वटा १२ सय एमएमका पाइल्स निर्माण गर्र्ने डिजाइन स्वीकृत भए पनि पप्पुले एउटा पाइल १६.५ मिटरको मात्र निर्माण गरेको र दुईवटा पाइल्स क्र्याक भएको प्राविधिक परीक्षणबाट देखिएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्