तेल ट्याङ्करमाथि इरानले आक्रमण गरेको अमेरिकाको दाबी

oil_tanker_ pic
लाेकपाटी न्यूज

काठमाडौं, ३१ जेठ । दुई वटा तेल ट्याङ्ककरमा क्षति पुग्ने गरी भएको शंकास्पद आक्रमणमा इरानको हात रहेको अमेरिकाले जनाएको छ।

गल्फको ओमानमा दुईवटा तेल ट्याङ्ककरमा क्षति पुग्ने गरी भएको शंकास्पद आक्रमणमा इरानको हात रहेको अमेरिकाले दाबी गरेको हो। यद्यपि, उक्त आरोपलाई इरानले अस्विकार गरेको छ। निकै व्यस्त तेल निर्यात मार्ग नजिकै रहेका दुईवटा तेल ट्याङ्ककरमाथि बिहीबार हमला भएको थियो।

ओमानको खाडीमा भएको उक्त आक्रमणमा इरानको हात रहेको गोप्य सूचना पाएको भन्दै अमेरिकी विदेशमन्त्रीले दाबी गरे पनि इरानले त्यसको लगातार खण्डन गरिरहेको छ। इरानले आक्रमणको खण्डन गरेपनि अमेरिकाले एउटा भिडियो फूटेज सार्वजनिक गर्दै हमलाको जिम्मेवार इरान भएको जिकिर गरेको छ। उक्त भिडियो फुटेजमा देखिएका व्यक्तिहरु इरानी रिभोलुस्नरी गार्डका सदस्यहरु भएको अमेरिकी सेनाका प्रवक्ताले दाबी गरेका छन्।

‘अमेरिकी सेन्ट्रल कमान्डले भिडियो मात्रै सार्वजनिक गरेको छैन, घटनाको तयारीको योजनासमेत सार्वजनिक गरेको छ’ अमेरिकी सैनिक प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। भिडियोमा कसैले प्रत्यक्ष आक्रमण गरेको नदेखिए पनि शंकास्पद रहेका मान्छेहरुलाई देखाइएको छ। अमेरिकाले उनीहरुले नै आक्रमण गरेको दाबी गरेको छ।

गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेसँगै मध्यपूर्वमा अमेरिका इरानबीचको तनाव दिनदिनै बढ्दो अवस्थामा छ।हमलापछि अमेरिकाले कुनै पनि प्रकारका आतंकवादी गतिविधिलाई अमेरिकाले सहन नसक्ने भन्दै त्यसको जवाफ दिने बताएको छ। तेल ट्याङ्ककरमाथि भएको हमलापछि तेलको अन्तराष्ट्रिय मुल्यमा वृद्धी हुने आशंका गरिएको छ।