काेल्ड ड्रिङ्स् हाेइन, दूध-दही खानुस्’ : डा. अरुणा उप्रेती

लाेकपाटी न्यूज

काठमाडौं, ३१ जेठ । गर्मी मौसममा आमाबाबुले बालबालिकालाई चिसो पेय पदार्थ दिने गर्छन्। यसले बालबालिकाको स्वास्थ्यमा धेरै असर गर्छ।

कोक, फेन्टालगायतका पेय पदार्थले त असर गर्छ नै, बट्टामा राखिएका फलफूलको जुसले पनि धेरै असर गर्छ भनेर प्रमाणित भैसकेको छ। हामीले फलफूलको जुस त तागतिलो हुन्छ भनेर खान्छौं, तर त्यो कुहिएको फलफूललाई कच्याकुचुक्क बनाएर राखेको हुन्छ । बिरामी भेट्न जाँदा यो त राम्रो भनेर लिएर जान्छौं, तर त्यो कुहिएको फलफूल लिएर जाने हो।

त्यस्तो खालको जुसमा ८० प्रतिशत चिनी मात्रै हुन्छ । चिनीको झोल खानको लागि हामीले धेरै पैसा तिरेका हुन्छौं।
अहिले त स्कुलको खाजामा पनि यस्ता खालको जुसको विज्ञापन रहेको हुन्छ। त्यसले पनि बालबालिकाको मनोविज्ञानमा असर गरेको हुन्छ । जुस बनाउने ड्रममा कुहिएको फलफूल भेटियो भनेर पनि कहिलेकाहीँ आइरहेको हुन्छ। त्यसैले आमा बाबु पनि सचेत हुनु पर्छ।

कुनै हालतमा पनि राम्रो फलफूलको जुस हुँदैन। भए पनि कुहिएको फलफूलको जुस हुन्छ। त्यसैले यस्तो जुस दिनु भनेको आफ्नै छोराछोरीको स्वास्थ्यमा खेलबाड गर्नु हो। गर्मीमा के खाने ? के नखाने ? पोषणविद् डाक्टर अरुणा उप्रेतीको यस्तो छ सुझाव ।

गर्मीमा के खाने ?
बजारमा पाइने जुसको सट्टामा घरमा नै हुने दही, मही बालबालिकालाई दिनुपर्छ। आफूले पनि यस्तै खानुपर्छ। यस्तै जौको सातु र सर्बतले पनि गर्मी मौसममा धेरै फाइदा हुन्छ। यसमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ, रेसादार पनि हुन्छ। भने शरीरलाई उर्जा पनि दिन्छ ।

ध्यान दिनुपर्ने कुरा
अहिले फलफूल पेलेर निकालिएको जुस पिउने चलन पनि बढेको छ। यसरी जुस पिउँदा पहिला नै पेलेर राखेको छ भने पिउनु हुँदैन। पेलेर जुस पिउनुभन्दा फलफूल आफैँले चपाएर खाँदा राम्रो हुन्छ। तर, कहिलेकाहीँ पिउँदा आफैँले वा आफ्नै अगाडि पेलेर पिउनुपर्छ। बाहिर पिएको फलफूलको जुसले झाडापखाला लाग्ने भएकाले सबै सचेत हुनु पर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्