दिगो र आत्मनिर्भर विकासका कार्यक्रम अघि बढाउँछाै‌ं : रेनु दाहाल

narayani-bikash01
लाेकपाटी न्यूज

चितवन, ३० जेठ । भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले महानगरले दिगो र आत्मनिर्भर विकासका गतिलाई अगाडि बढाइरहेको बताए।

भरतपुर महानगरपालिकाले आज विकास निर्माणमा सार्वजनिक निजी साझेदारीको प्रयोग एवम् नारायणी किनार विकाससम्बन्धी छलफल कार्यक्रममा उनले महानगरले तीव्र विकासका कामलाई अगाडि बढाएको बताइन्। भरतपुर महानगरको सभाहलमा भिरोक एण्ड कम्पनीको संयोजनमा भएको कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै उनले दिगो र आत्मर्निभर विकासका गतिलाई तीव्रता दिएको बताइन्।

उनले तेस्रो नगर सभाको तयारीमा रहेको भरतपुर महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणालाई कार्यन्वयनमा ल्याई अगाडि बढाइएको बताइन् । कार्यक्रममा प्रमुख दाहालले सरकार एक्लैले सम्पूर्ण विकास गर्न नसक्ने बताउँँदै भनिन्, ‘सरकार निजी क्षेत्रको सहकार्यबाटै दिगो आत्मनिर्भर र दिगो विकास हासिल गर्न सक्छ ।

भरतपुर महानगरपालिका ठूला पूर्वाधार विकासको चरणमा रहिरहेको बताउँँदै रिङ्गरोड लिङ्करोड सिटीहल बहुतले व्यावसायिक भवनको निर्माणलाई तीव्रताका साथ अगाडि बढाएको उनको भनाइ थियो । प्रमूख दाहालले अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण पनि अब दु्रत गतिमा अगाडि बढिरहेको बताइन्। कार्यक्रममा तेस्रो नगर परिषदबाट आयोजनाहरु तय गर्दै अगाडि बढ्ने उनले बताइन् ।

उनले भरतपुर महानगरपालिकाले नारायणी नदीकिनारलाई सी बीच मोडलको रूपमा विकास गर्न चाहेको बताइन्। उनले योजना सार्वजनिक निजी साझेदारी मोडलमा योजना अगाडि बढाउने बताउँदै सोही क्षेत्रमा व्यवस्थित अटोल्याण्ड र नारायणी नदी किनारमा रहेको नगर वनलाई मुख्य पर्यटकीय केन्द्रको रूपमा सोही मोडलबाट सम्पन्न गर्ने योजना रहेको बताइन्।

उनले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रमा पनि सार्वजनिक निजी साझेदारीमा लगानी गर्न आह्वान गरिसकेको बताउँदै यसमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान समेत गरिन्। प्रमूख दाहालले सार्वजनिक निजी साझेदारीको क्षेत्रमा भरतपुर महानगरपालिकालाई भिरोक एन्ड कम्पनी र यसका अध्यक्ष राधेश पन्तले विगतदेखि नै सहजीकरण र समन्वय गरिरहेकोमा धन्यवाद दिँँदै यसलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउन महानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

कार्यक्रममा सार्वजनिक निजी साझेदारी विज्ञ राधेश पन्तले नेपालमा यो विषय नयाँ भएपनि अति विकसित, विकासोन्मुख देशहरूमा सफल प्रयोग भइसकेको बताउँदै यसलाई सबै निकायले समन्वय गरेर विकासको प्रतिफल हासिल गर्नुपर्ने बताइन्। भिरोक एन्ड कम्पनीका अध्यक्षसमेत रहेका पन्तले यसका सबल पक्ष यसले दिगो र आत्मनिर्भर विकासको क्षेत्रमा पार्ने सकारात्मक प्रभावका बारेमा धारणा राखे ।

कार्यक्रममा निजी क्षेत्रको तर्फबाट उद्योग वाणिन्ज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले निजी क्षेत्र सधैँ नाफामा मात्रै केन्द्रीत हुन्छ भन्ने नकारात्मक सोचबाट मुक्त हुनुपर्ने बताउँदै निजी क्षेत्र अन्य पक्षसँँग मिलेर साना ठूला सबै प्रकारका पूर्वांधार निर्माणमा सहभागी हुन तयार रहेको बताए। नारायणी नदी किनार र विकासमा उद्योग वाणिज्य संघ सधैँ क्रियाशील रहेको उनले उल्लेख गरे।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमूख पार्वती शाह ठकुरी प्रमूख शासकीय अधिकृत नेत्रप्रसाद सुवेदी वडा न १० का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारी, वडा अध्यक्षहरू, निजी क्षेत्रका प्रतिनिधिका साथै भरतपुरमहानगरपालिकाका प्राविधिकहरूले नारायणी नदी किनारको विकास, अटोल्याण्ड, नगर वन टापुको समेत समुचित विकास गरी पर्यटकीय केन्द्र बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्