विप्लवका चार कार्यकर्ता नेकपा प्रवेश (नामसहित)

Biplab netra bikram chand
लाेकपाटी न्यूज

झापा, ३० जेठ। प्रतिबन्धित पार्टी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका चार कार्यकर्ता नेकपा प्रवेश गरेका छन्। राज्य विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव नेतृत्वका नेकपाका चार कार्यकर्ता बिहीबार रिहा भए लगत्तै नेकपा प्रवेश गरेका हुन्।

रिहाइ हुनेमा ताप्लेजुङ मौवा खोला गाउँपालिका वडा नं १ हाल दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय विजय दर्नाल, बुद्धशान्ति गाउँपालिका–२ का ३८ वर्षीय गणेश विश्वकर्मा, ताप्लेजुङ फत्तालुङ गाउँपालिका–२ का ३० वर्षीय विदुर शेर्पा र सोही गापाका २८ वर्षीय फुर्वा शेर्पा रहेका छन्।

उनीहरुले पार्टीको कुनै पनि जिम्मेवार तहमा रहेर अराजक गतिविधि नगर्ने र बाँकी जीवन स्वतन्त्ररुपले यापन गर्ने भनी जिल्ला प्रशासन कार्यालय झापामा दिएको निवेदनका आधारमा उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। उनका अनुसार उनीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतको रोहबरमा रिहाइ गरिएको हो। रिहा भए  लगत्तै उनीहरुले नेकपा (विप्लव) नेतृत्व समूह परित्याग गरेको विज्ञप्तिमार्फत घोषण गरेका छन्।

रिहाइ भएलगत्तै बिहीबारै उनीहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। अध्यक्ष पाठक, जिल्ला कमिटी सदस्य चन्द्रा श्रेष्ठ, असारु राजवंशी, मोहन विश्वकर्मा लगायतका नेताले अबिर र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए।