भारतमा सामुद्रिक आँधीका कारण तीन लाख मानिस सारियो

Aadhi
लाेकपाटी न्यूज

एजेन्सी। भारतको गुजरातमा मौसमविद्ले सामुद्रिक आँधी आउने अनुमान गरेको छ। बिहीबार मौसमविद्ले सो अनुमान गरेपछि तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको हो।

अरब सागरबाट उठेको चक्रवात उत्तरी दिशातर्फ १ सय ६० किलोमिटर प्रतिघण्टा गतिमा अघि बढेको भारतीय मौसम विभागले जनाएको छ। विभागका अनुसार उक्त आँधी गुजरातको तटसँग ठोक्किने छ। जसबाट ४ सय ८ गाउँका ६० लाख बासिन्दा प्रभावित हुनेछन्। उक्त आँधीको डरले गुजरातको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।

आँधीले गुजरातको कच्छ, देवभूमि, द्वारका, पोरबन्दर, राजकोट, जूनागढ दीव, गिर, सोमनाथ, अमरेली र भावनगरलगायतका जिल्लामा असर पार्ने अनुमान गरिएको छ। गुजरात, महाराष्ट्र, कर्नाटक र गोवामा सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ।

वायु’ नाम दिइएको यो चक्रवातलाई भारतीय मौसम विभागले गम्भीर श्रेणीमा राखेको छ। गुजरातको पोरबन्दर र जामनगरजस्ता कयौं इलाकामा यतिबेला भारी वर्षा र तीब्र हावाको प्रकोप देखिएको भारतीय मौसमविद्ले बताएका छन्। सम्भावित नोक्सानी रोक्न वायु सेना, थल सेना र तटरक्षक दललाई तयारी अवस्थामा राखिएका छन्। पर्यटकहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

त्यसैगरी रेल सेवा तथा पाँचवटा विमानस्थलको हवाई सेवा २४ घण्टाका लागि बन्द गरिएको छ। यसैगरी १० जिल्लाका स्कुल पनि शनिबारसम्मका लागि बन्द गरिएको गुजरात सरकारले जनाएको छ। भारतको मौसम विभागका अनुसार मंगलबार अरब सागरबाट सुरु वायु आँधी उत्तरतर्फ आउने क्रममा छ ।