काठमाडौं, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोका दिनमा विभेदका विरुद्धमा लडाईं नलडेको भए आजको मुलुक संघीय लोकतन्त्रसहितको गणतन्त्रात्मक मुलुक नहुने बताएका छन्। किराती नव–साँस्कृतिक केन्द्रले आज काठमाडौंको नाचघरमा गरेको यलम्बर सांस्कृतिक कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘नेपाल हरेक हिसाबले विविधतायुक्त देश हो। बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक हिसाबले पनि विविधतायुक्त देश हो। हिजोका दिनमा जाति, भाषा, संस्कृति आदिका आधारमा जुन किसिमको विभेद गरिन्थ्यो, त्यसका विरुद्धमा हामीले संघर्ष गर्यौं, लडाईं लड्यौं। हामीले हिजोका दिनमा विभेदका विरुद्धमा लडाईं नलडेको भए हामी आजको पहिचानसहितको संघीय गणतन्त्रात्मक मुलुकमा आइपुग्ने थिएनौं।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्यक्रमलाई ऐतिहासिक महत्वको कार्यक्रम भन्दै किराँत राजा यलम्बर सबैका नायक भएको बताए। उनले भने, ‘यलम्बरले सांस्कृतिक हिसाबले जुन योगदान दिनुभएको छ त्यो योगदान खाली किराँतीहरुको लागि मात्र नभएर नेपाल राष्ट्रकै लागि महत्वपूर्ण छ। सम्पूर्ण सांस्कृतिक अभियानमा हामीले यलम्बरलाई बिर्सियौं भने आजको नेपाल कल्पना सम्म गर्न सकिँदैन, त्यसैले यलम्बर हाम्रा नायक हुन्।’
उनले आजको रक्तपातविहीन शान्तिपूर्ण राजनीतिक आन्दोलनमा मोर्चा कसेर सबै लाग्नुपर्ने बताए। उनले भने, ‘यो शान्तिपूर्ण राजनीतिको रक्तपातविहीन युद्धमा हामीले आफूलाई मोर्चाबद्ध राख्नैपर्छ। यदि त्यस्तो गरिएन भने सयाैं वर्षसम्म हाम्रो समुदाय उत्पीडन र विभेदको सिकार हुनुपर्ने खतरा हुन्छ।’
कार्यक्रममा सम्मान गरिएका स्रष्टा तथा कलाकारहरु आयोजकको उपयुक्त छनोट भएको भन्दै उनले यस्ता कार्यक्रमले विभेदपूर्ण समाजमा एकताको सन्देश प्रवाह गर्ने बताए।
उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान नगद रु. दुई लाख दश हजार राशिसहित वरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई प्रदान गरिएको थियो। त्यस्तै, किराती नव–सांस्कृतिक सम्मान नगद रु. तीस हजार राशिसहित वरिष्ठ गायक कुवेर राईलाई र किराती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद रु. बीस हजार राशिसहित गायिका मेलिना राईलाई प्रदान गरिएको थियो।
उक्त सांस्कृतिक कार्यक्रममा शम्भु राई, सत्यकला राई, डाक्टर किराँत, रुप कुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको भव्य सांस्कृतिक प्रस्तुतिहरु रहेका थिए।



लाेकपाटी न्यूज

