भूमिसुधार भनेको गरीबलाई जग्गा बाँड्ने कार्यक्रम मात्र हाेइन : मन्त्री अर्याल

padma-aryal-10
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्‍मा अर्यालले भूमि सुधार कार्यक्रम भनेको गरिबलाई जग्गा बाँड्ने कुरा नभएको बताएकी छन् ।

अखिल नेपाल किसान महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘दक्षिण एसिया लैंगिक संवेदनशील मूल्य श्रृंखला’ सम्बन्धि दक्षिण एसियाली क्षेत्रीय परामर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

कार्यक्रममा बाेल्दै मन्त्री अर्यालले भनिन्, “भूमि सुधार भनेको गरीबलाई जग्गा बाँड्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं बिघा जमिन कसरी कृषि उत्पादनमा लगाई अधिकतम लाभ लिने भन्ने पनि हो।” कार्यक्रममा उनले समृद्ध नेपाल बनाउन सबै खाले गरीबीको अन्त्य गर्नुपर्ने धारणा राखिन्।

“गरिबी निवारण सबै क्षेत्रसँग सम्बन्धित विषय भएकाले सरकार, सहकारी र निजी तथा गैरसरकारी विकास साझेदारहरुसँग समन्वय र एकीकृत प्रयासबाट गरीबी निवारणका चुनौति पार गर्न सकिने कुरामा विश्वस्त छौं,” मन्त्री अर्यालले भनिन् ।

लैंगिक विभेद र असमानताको समस्या विश्वभरि नै कायम रहेको भन्दै मन्त्री अर्यालले यो समस्या नेपालका दुर्गम र विकट बस्तीहरुमा विद्यमान रहेको बताइन् । नेपालको सन्दर्भमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल लक्ष्य लिएर सरकार अगाडि बढिरहेको भन्दै मन्त्री अर्यालले सबै प्रकारका गरीबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताइन् ।

सरकार भूमिको उत्पादकत्व वृद्धी, उन्नत र आधुनिक कृषि उद्योगको विकास र बजारीकरण, खाद्य सम्प्रभुता र ग्रामीण गरीबीको जीवनस्तर उकास्नतर्फ लागिरहेको भन्दै मन्त्री अर्यालले भूमिसुधार कार्यक्रम सामाजिक तथा आर्थिक रुपान्तरणको मुख्य सवाल भएको बताइन् ।