बर्दघाटका एकल महिलालाई बुढानिलकण्ठ स्कुलका विद्यार्थीको सहयोग

Budhanil-kantha
लाेकपाटी न्यूज

काठमाडौं, २९ जेठ । बुढानिलकण्ठ स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका उत्साही विद्यार्थीहरुले नवलपरासीको बर्दघाटमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन आर्थिक एवम् भौतिक सहयाग गरेका छन् ।

नवलपरासीका संविधानसभा सदस्य विक्रम खनालको उपस्थितिमा बुढानिलकण्ठ स्कुलका विद्यार्थीहरुले सो सहयोग हस्तान्तरण गरेका हुन् । उनीहरुको सानो सहयोगले निराश भएर एकल जीवन बिताइरहेका महिलाहरुलाई आत्मनिर्भर बन्न प्रेरणा मिलेको र आत्मविश्वास पनि बढेको संविधानसभा सदस्य खनालले बताए।

उनले भने, ’यो एकदम ठूलो परियोजना होइन । तर, एसईई परीक्षा दिएका केही विद्यार्थीहरूको कामले समाजमा फरक छाप छोडेको छ । उनीहरुको प्रयासले १० परिवारका महिलालाई नयाँ जीवन सुरू गर्न उत्साह थपिएको छ ।’

भर्खर एसईई दिएर बसेका विद्यार्थीहरुमा केही सामाजिक काम गर्ने रहर जागेपछि उनीहरुले आफन्तहरुको सरसल्लाहमा सो ठाँउमा गएर एकल महिलाहरुलाई सहयोग गर्ने मनस्थिति बनाएका थिए । सोही अनुरुप उनीहरुले एक पटक सो स्थानको भ्रमण गरे । एकल महिला रहेका परिवारको पहिचान गरे । आत्मनिर्भर बन्न स्थानीय तहमा उनीहरुले गर्न सक्ने कामको सूची तयार पारे । हरेकलाई उनीहरुको रुचिको विषय भन्न लगाए ।

यसरी माग अध्ययन गर्न जाँदा कतिपयले किराना पसल, केहीले बाख्रापालन गर्ने, केहीले टेलरिङ्ग खोल्ने इच्छा देखाएका थिए । काठमाडौंबाट बर्दाघाटसम्म पुगेका विद्यार्थीहरुले सो क्षेत्रका एकल महिलाहरुको माग लिएर आए र उनीहरुलाई सघाउने प्रस्ताव सहितको परियोजना विभिन्न बैंक तथा वित्तीय संस्था र कर्पोरेट हाउससमक्ष राखे । आवश्यक रकम जुटेपछि उनीहरुले सो सहयोग गरेका थिए ।

विद्यार्थीहरुको उक्त कार्यक्रमका लागि श्री पञ्चकन्या गु्रप, कान्तिपुर हार्डवयर सेन्टर, एनआईसी एसिया बैंक, रिलायन्स पेन्ट, ज्योति विकास बैंक, ई–सेवा, भोल्भो, रोयल कोअपरेटिभ, हिकभिजन, सिम टि.भी., एनसीसी बैंक, सिद्धार्थ बैंक जस्ता संस्थाहरुले सहयोग गरेका थिए ।

एकल महिलालाई उत्तम जीवन नामक सो परियोजना बुढानिलकण्ठ स्कुलबाट २०७५ मा माध्यमिक शिक्षा परीक्षा दिएका नबल अधिकारी, अभानिश चौरागार्इं, समिर खत्री, कुन्दन थापा मगर, समन थापा, विराद रिजाल र आयुष झाको परिकल्पना थियो ।

विद्यार्थीहरुले उक्त परियोजनालाई वित्तीय सहयोग दिने र परियोजनामा सहभागी हुने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्