चितवन, २९ जेठ। नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन्।
प्रेस संगठन चितवनले भरतपुरमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले चन्दा रकमले नपुगे आवश्यक सहयोग सरकारले गर्ने बताएका हुन्। प्रचण्डले गौरवका ठूला आयोजना सम्पन्न गराउन प्रोत्साहन गर्ने भनेर सरकारले नीतिगत रुपमा नै व्यवस्था गरिसकेकाले निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए।
‘ठूला आयोजना सम्पन्न गराउने क्रममा सहयोग संकलन जे जति उठ्छ, त्यतिले नपुगे सरकारले सहयोग गर्छ’ उनले भने, ‘केही साना समस्या आउँछन्, तर विचलित नभईकन अगाडि बढ्नुपर्छ, चाँडै अगाडि बढाउने छलफल भइसकेको छ।’
अध्यक्ष प्रचण्डले यस्ता आयोजनाले मुलुकको समृद्धिमा सहयोग पुग्ने भएकाले आआफ्नो स्थानबाट सकेको सहयोग गर्न सबैलाई आग्रह पनि गरे। उनले पछिल्लो समय आवश्यक तयारी नगरी विधेयक आउँदा विरोध भइरहेको पनि बताए। प्रचण्डले आगामी दिनमा कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने भएकाले धेरै विरोध गरिरहनु नपर्ने बताए। यसै सन्दर्भमा उनले मिडिया काउन्सील विधेयक आवश्यक परिमार्जन हुने आश्वासनसमेत दिएका छन्।
पार्टीभित्रको मुख्य विषयमा सहमति भइसकेको भन्दै अध्यक्ष प्रचण्डले केही साना विषयलाई पनि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि टुंग्याउने बताए।



लाेकपाटी न्यूज

