विवादित विधेयक सच्चाउनुपर्छ : प्रचण्ड

prachanda
लाेकपाटी न्यूज

चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकारले पछिल्लो समय संशोधनका लागि संसदमा पेश गरेका विद्येयकहरु हतारमा प्रस्तुत गर्दा कमजोरी भएको बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा बुधबार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले विवादित सबै विद्येयकहरु सच्चाउनु पर्ने बताएका हुन्। अहिले विवादमा रहेको मिडिया विद्येयक, मानव अधिकार सम्बन्धी विद्येयक र गुठी विद्येयकहरु अध्ययन गरि आवश्यक भएका बुँदा सच्चाउनु पर्ने उनको भनाई थियो।

अध्यक्ष प्रचण्डले लोकसेवा आयोगले खुलाएको विज्ञापन सम्बन्धमा राज्य व्यवस्था समितिले निर्णय गरिसकेको कारण पार्टीमा छलफल गरेर पार्टीले आधिकारिक निर्णय लिने बताए।चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधी सभा सदस्य तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चितवनमा निमार्णाधिन अन्तर्राष्ट्रिय रंगशाला राष्ट्रिय गौरवको विषय भएकोले यसलाई नेपाल सरकारले अहिलेको बजेटमा प्रस्तुत गरेको जस्तै प्राथमिकतामा पारिने बताए।

पहिलो चरणमा निजी क्षेत्रबाट प्रयास भइरहे पनि सरकारले समेत यसलाई प्राथमिकतामा पारेर निमार्ण अधि बढाउने उनले बताए। प्रधानमन्त्री र नेकपाको अध्यक्ष पद आलोपालो हुने पहिलाकै निर्णय भएको र यो विषय सबैलाई थाहा भएकै विषय भएकोले यसमा धेरै बोलिरहनु नपर्नै बताए।

अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किए पछि पार्टीको जिल्ला इन्चार्ज, सह-ईन्चाज, पोलिटब्युरोसहित समितिसमेत विभाजन गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए।