अनौठो सर्प नेपाल ल्याउँदै गरेकाे भारतीय नागरिक पक्राउ

snake
लाेकपाटी न्यूज

वीरगञ्ज, २८ जेठ। विरगञ्जमा सशस्त्र प्रहरीले एक अनौठो सर्पसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे छ। मंगफबार भारतको भगालपुर भोलेनाथनगरी १७ बस्ने २७ बर्षका अमित कुमारलाई प्रहरीले पक्राउ गरेको हो।

भारतको रक्सौलबाट नेपालतर्फ सर्प ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका१६ भन्सार मुलगेटबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। दुर्लभ अजिंगर भएको आशंकामा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको भनाइ छ।अमितले ल्याएको सर्पको दुवैतिर टाउको जस्तै देखिन्छ। सर्प छोड्नका लागि सशस्त्र प्रहरीलाई २० हजार रुपैयाँको अफर गरेको भए पनि रकम नलिई नियन्त्रणमा लिएको भन्सार सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए। सर्पसहित अमितलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

जिल्ला वन कार्यालयका पर्साका प्रमुख वन अधिकृत राजेश्वरमान श्रेष्ठले भने सशस्त्र प्रहरीले बुझाएको सर्प अजिंगर नै भने नभएको बताए। उनले सर्पसहितको मानिसलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी भइरहेको जानकारी दिए।

कहिलेकाहीँ सपेराहरुले तराई मधेसका गाउँघरमा यस्तो सर्प ल्याएर देखाउने गरेका यस क्षेत्रका बासिन्दा बताउँछन्। अनौठो सर्प हेरेर कतिपयले सपेरालाई रकमसमेत दिने गर्दछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्