काठमाडौं, २८ जेठ। उपप्रधानमन्त्री उपेन्द्र यादवकाे समाजवादी पार्टी नेपाल सरकार छाेड्ने तयारीमा छ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी पार्टी सरकारबाट अलग हुन खोजेको राजधानी दैनिकमा खबर छ ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरी सरकारमा सहभागी भएको थियो। सरकारमा सहभागी हुँदा भएको सहमति र पछिल्लो समय नयाँ शक्ति पार्टीसँग भएको एकीकरणपश्चात् सरकार छोड्न पार्टीभित्र चर्को दबाब छ। उपेन्द्र यादव नेतृत्वको फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण हुँदा सरकार छोड्ने आन्तरिक सहमति भएको थियो।
समाजवादी पार्टी केन्द्रीय कमिटीका अध्यक्षसमेत रहेका यादव अहिले ओली नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री छन्। विगतको सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाइप्रति समाजवादी पार्टीमा असन्तुष्टि बढ्दै गएको छ। सरकार छोडेर माग सम्बोधनका लागि सडक र सदनबाट संघर्ष गर्नुपर्ने आवाज पार्टीमा उठ्दै आएको छ।



लाेकपाटी न्यूज

