काठमाडौं, २७ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी छन्। राष्ट्रसभाको बैठकमा बोल्दै मन्त्री अर्यालले गुठी विधेयक संविधान अनुकुल भएको बताएकी हुन्।
राष्ट्रिय सभाको आजको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भनिन्, ‘गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ ।’
मन्त्री अर्यालले गुठीबारे एकरुपता ल्याउनका लागि प्राधिकरणको विषय विधेयकमा ल्याइएको बताउँदै गुठीलाई अलिक वैज्ञानिक हिसाबले अगाडि बढाउन खोजिएको प्रष्ट पारिन्। निजी गुठीलाई सार्वजनिक बनाउन सकिने तर सार्वजनिक गुठीलाई बनाउनै सकिँदैन भन्दै उहाँले गुठी विधेयकबारे आशङ्का नगर्न आग्रह समेत गरिन्।
आज बिहान ११ बजेर १० मिनेटमा शुरु भएको बैठकमा प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगन गरेका थिए।
नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लठ्ठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गरी सांसदले बैठकमा अवरोध गरेपछि बैठक स्थगन भएको थियो । सो घटनाबारे गृहमन्त्रीले सभामा जवाफ दिने आश्वासन पाएपछि बैठक शुरु भएको थियो ।



लाेकपाटी न्यूज

