काठमाडौं, २७ जेठ। मुटुमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन्। मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन्।
उनी यही जेठ १९ गते अस्पताल भर्ना भएका थिए। नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लाष्टि गरिएको थियो। मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पतालमा भर्ना भएका हुन्।
उनी अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि सार्वजनिक कार्यक्रम स्थगित गरिएको थियो। मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ गते हेटौंडामा हुने प्रदेश समन्वय परिषद्समेत स्थगित भएको थियो। जेठ २९ र ३० गते हुने परिषद्को बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौँडा आउने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।


लाेकपाटी न्यूज

