ललितपुर, २६ जेठ । गोदावरी खोला क्षेत्र सरसफाइको १४ औं हप्ता भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय महिला बालबालिका तथा वातावरण प्रेमीहरुसँगको सहकार्य गरेर बेबी थापाले विगत १४ हप्ता देखि गोदावरी खोलाको मुहानदेखि लिएर खोला आसपास लगायतका क्षेत्रमा सरसफाइका लागि सहकार्य गर्दै आएकि छन् ।
आजको कार्यक्रममा नेपाल प्रहरी बाडेगाउँ, नेपाल आर्मी १३ नम्बर बाहिनी लगनखेल, नेपाल रेडक्रस सोसाइटी गोदाम चौर, नेपाल रेडक्रस सोसाइटी ठैब, अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था, धर्म तारा बचत तथा ऋण सहकारी संस्था , छ्न्त्याल एकेडेमी , सूचनाको हक अभियन्ता एवम संचारकर्मी दिपक थापा, संचारकर्मी वेदनाथ ढकाल , ब्लु बर्ड स्कुलका शिक्षक ओम थापा मगर , कलाकार देश भक्त थापा , सरसफाइ अभियन्ता चित्र सुनार, धिरेन्द्र शाह, रन्जिता श्रेष्ठ खत्री , तारा खड्का , नारायणी पाण्डे , बिन्जु थापा , सोवोध थापा, दिलेन्द्र थापा लगायत २०० भन्दा बढी अभियन्ताहरुको उपस्थिति रहेको थियो।
सबै अभियन्ताहरुको साथ सहयोगबाट नै अभियान सफल हुने अपेक्षा गर्दै आयोजकले कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद दिँदै आउँदा दिनमा पनि निरन्तर सहभागी हुन आह्वान गरेको छ। पहिले र अहिलेको परिवेशलाई हेर्दा आमूल परिवर्तन भएको कुरा अभियन्ताहरुले पनि बताएका थिए ।

आयोजकको तर्फबाट बोल्दै सरसफाइ अभियन्ता बेबी थापाले खाने पानीको मुहान सफा राख्नु सबैको कर्तव्य रहेको र त्यही कर्तव्यलाई पूरा गर्नको लागि आफुहरुले पहल गरेको बताउँदै सबैलाई आफ्नो घर आगन अथवा वरपरका सार्वजनिक स्थलहरु सधंै सफा राख्न आग्रह गरिन्।
त्यस्तै सूचनाको हक अभियन्ता एवम संचारकर्मी दिपक थापाले आफ्नो जन्मदिनको अवसरमा सरसफाइ अभियानका लागि आवश्यक पर्ने औजार डोकाहरु, माक्स पन्जा लगायतका सामग्री हस्तान्तरण गरी खोलाको किनारमा वृक्षारोपण समेत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘मानव जिवनको लागि मात्र नभएर समग्र चराचर जगतको अस्तित्व बचाउनका लागि वातावरणको रक्षा गर्न आवश्यक छ। यही कुरालाई ख्याल राख्दै मैले आफ्नो जन्मदिनको अवसरमा वातावरण स्वच्छ राख्नको लागि केही योगदान गरौं भन्ने लागेर यो गरेको हुँ।’ उनले सबैलाई वातावरण सफाइमा निरन्तर लागिरहनका लागि समेत आग्रह गरे । बाँच्नको लागि अक्सिजन अत्यावश्यक रहेको भन्दै थापाले अक्सिजनका लागि रुख रोप्नु आवश्यक रहेको बताए। उनले अव्यवस्थित सहरीकरणले आक्रान्त भएको यस परिवेशमा वृक्षारोपण आवश्यक भएको कुरा समेत बताए।
सबैको उत्साह र उमङ्गले भरिपूर्ण कार्यक्रम निकै सौहार्दपुर्ण वातावरणमा करिब डेढ घण्टाको सेरोफेरोमा गोदावरी खोलाको आमाघर आसपासमा केन्द्रीत भएर सम्पन्न भएको थियो।



लाेकपाटी न्यूज
