अन्तत : पत्रकारसँग मेयर द्वारिकलालले मागे माफी (विज्ञप्ति)

dwarika lal
लाेकपाटी न्यूज

काठमाडाैं, २६ जेठ। इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई दिएकाे धम्की फिर्ता लिएका छन्। उनले आइतबार एक विज्ञप्ति जारी गर्दै स्थानीय पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँचिदिने धम्की फिर्त्ता लिएका हुन् ।

यस्तै विज्ञप्तिमार्फत उनले पत्रकार र प्रेस जगतलाई पर्न गएको आघातप्रति दुःख व्यक्त गरेका छन्। ‘मंगलबार इटहरीका एक पत्रकार मित्रले फेसबुक कमेन्टको विषयलाई लिएर आक्रोशपूर्ण तरिकाले फोन गरेपछि भएका संवादका क्रममा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाइहरुबाट उहाँ र सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दछु, विज्ञप्तिमा भनिएकाे छ, ‘प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्त्ता लिन चाहन्छु । मेरो सञ्चार जगतप्रति चोट पुर्‍याउने कुनै मनसाय छैन।’

इटहरी उपमहानगर प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । ‘हामी दुवै पक्ष परिष्कृत र परिमार्जित बन्दै इटहरीको समृद्धि र विकासमा अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो। प्रेस जगतको भूमिकाबीना नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु सम्भव हुने थिएनन्। प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढीकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुई मत नहोला’ विज्ञप्तिमा उल्लेख छ।

भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको अभियानमा रहेकोले सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य रहेको उनकाे भनाइ छ। ‘इटहरीको विकासका लागि उपमहानगरले कुनै कसर बाँकी राख्ने छैनौं।परिवर्तन र समृद्धिको यो यात्रामा सबै पक्षलाई समेल भइदिन अनुरोध छ’ विज्ञप्तिमा भनिएकाे छ।

                                                           

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्