बैठक स्थलबाटै विप्लवका १८ नेता पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज

पोखरा, २६ जेठ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेकपाका १८ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको हाे।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा गएराति बैठक बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ। कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आमा समूहको भवनमा बैठकमा बसिरहेका उनीहरुलाई घेरा हालेर प्रहरीले नियन्त्रणमा लिएको बताए।

पक्राउ पर्नेमा आक्रोश भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत छन्। प्रहरी उपरीक्षक कार्कीका अनुसार, विकास पार्टी जिल्ला सेक्रेटरी भएको खुलेको हो। त्यस्तै काजी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष तथा राई जिल्लास्तरीय नेता हुन्।

नियन्त्रणमा लिइएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखेर थप अनुसन्धान भइरहेको कार्कीले जनाएका छन्री।