कांग्रेस देशकै भरपर्दाे पार्टी हाे : प्रकाशमान सिंह

prakashman sinha
लाेकपाटी न्यूज

दैलेख, २५ जेठ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको सबैभन्दा भरपर्दो पार्टी कांग्रेस भएको दावी गरेका छन्। कांग्रेसले दैलेख बजारमा आयोजना गरेको जागरण सभामा बोल्दै कांग्रेस नेता सिंहले मुलुकमा भएका सबै सकारात्मक राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको दावी गरेका हुन्।

उनले एउटा निर्वाचनको नतिजालाई हेरेर निरास नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। उनले भने, ‘राणादेखि राजासम्म कांग्रेसलाई मुठिभरका ठान्थे तर, कांग्रेसका अगाडी राणा र राजाको के हालत भयो।’ उनले सत्तामा बसेर एउटा चुनाव जित्दैमा कांग्रेसका विरुद्ध अमर्यादित भाषा बोल्नेहरुलाई हिजो कांग्रेसले हात समातेर सिंह दरबार भित्र्याएको कुरा सम्झन आग्रह गरे।

नेता सिंहले सत्ताको उद्मातमा भुलेरले संविधान केहि होइन म नै सबैथोक भन्नु भन्दा फर्केर आफ्नो बिगत हेर्न अनुरोध गरे। सत्ता पाउँदैमा मै हुँ भनेर प्रस्तुत हुँदा धेरै तानाशाह पतन भएको उदाहरण पनि उनले दिए। उनले आज मुलुकका सामु गहन चुनौति रहेकाले सबै राजनीतिक दल जिम्मेवार बन्न नसके परिसथिति गम्भीर हुने कुरा ख्याल राख्नसमेत प्रमुख राजनीतिक दलहरुलाई अपिल गरेका छन्। वर्तमान सरकार प्रचारबाजी र भाषणमा मात्र रमाएको आरोप लगाउँदै उनले आर्थिक क्षेत्र सुधारको कुनै कार्ययोजना ल्याउन नसकेको बताए।

कांग्रेसका सामु मुलुक समाल्ने जिम्मेवारी फेरि पनि आउने भएकाले कांग्रेस जनहरुलाई पार्टी संगठन प्रभावकारी रुपमा जुट्न आग्रह गरेका छन्। कांग्रेस बलियो नबने अधिनायकवाद विरुद्ध लड्न नसकीने उनको भनाइ छ।
उनले सरकार अलमलमा परेको बताउँदै जनताले दिएको म्याण्डेटअनुसार काम गर्न नसकेको आरोप लगाए।

हिजो कांग्रेसले ल्याएका परियोजनाका नाम फेरेर आफुले गरेको धक्कु लगाउँदै भ्रष्टाचारमा रमाएको उनको आरोप छ। उनले अझै पनि लोकतन्त्रर र विधिको शासन कायम गर्न नागरिक अधिकारको रक्षाको लागि मुलुकमा कांग्रेस जस्तोसुकै चुनौतिको सामना गरेर अघि बढ्ने दृढतासमेत व्यक्त गरे।