खानेपानी र सरसफाई एक-अर्काका परिपुरक हुन् : मन्त्री मगर

Bina magar
लाेकपाटी न्यूज

काठमाडौं, २५ जेठ। खानेपानी मन्त्री बीना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन मन्त्रालय संकल्पसहित अघि बढेको बताएकी छिन्।

नेपाल नगरपालिका संघले शनिबार काठमाडौंको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताएकी हुन्। मन्त्री मगरले सबै जनतालाई खानेपानीको पहुँचमा पुर्याउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिवद्धता र हातेमालोको आवश्यकता रहेको औंल्याइन।

आगामी आर्थिक वर्ष ९२ प्रतिशत र तीन वर्ष भित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्याउने लक्ष्य रहे पनि सबैसँगको सहकार्यमा उक्त लक्ष्य पूरा गर्न सकिने उनको भनाई छ। उनले भनिन्, ‘एकातिर सबै जनतालाई खानेपानी पुर्याउनुपर्ने चुनौति छ भने अर्कोतिर पूर्ण सरसफाईको कार्यक्रमलाई पनि संगै अगाडि लैजानुपर्नेछ। खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पुरा हुन सक्दैन।’ खानेपानी र सरसफाई एक–अर्काका परिपुरक भएको उनको भनाइ छ।

बढ्दो जनसंख्या र सहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गइरहेको उनको भनाइ छ। सरसफाई अभियानलाई पनि मन्त्रालयले उत्तिकै प्राथमिकताका साथ अगाडि बढाएको उनको दावी छ। आउँदो आर्थिक वर्षमा खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको उनले जानकारी दिइन। कार्यक्रममा मन्त्री मगरले ‘हामी दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रतिबद्ध छौं, तपाईं नि ?’ भन्ने अभियानलाई साथ दिंदै हस्ताक्षर गरेकी थिइन्।

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख ‘मेयर’ अशोक कुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाईका कार्यक्रम तथा योजनाहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गरेका छन्। नगर प्रमुख श्रेष्ठले कुनै पनि नगरपालिका र गाउँपालिकाले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको र कुनैपनि स्थानीय निकाय सफा नभएको गुनासो गरे।

खानेपानीका आयोजनाहरु सञ्चालन गर्न र फोहोर व्यवस्थापनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिकाहरु तयार रहेको उनले स्पष्ट पारे।