महेश सिंह महतो/सिरहा, २५ जेष्ठ। सिरहामा अवैध रुपमा किलनिक सञ्चालन गर्नेहरुको संख्यामा वृद्धि भएको छ। प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई बन्द गर्न जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले सात दिने अल्टिमेट दिएको छ।
जन स्वास्थले नविकरणको लागि पटक–पटक अनुरोध गर्दा नसुने झैँ गरी अस्पताल र किलनिक सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो। संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा सगरमाथा मोडेल हस्पिटल प्रालि, धमिनी हस्पिटल प्रालि, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिसहित ८ वटा रहेका छन्।
लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान–४, डिफाईन हस्पिटल केयर प्रा.लि. लहान ३, फेण्डस हस्पिटल लहान ४, कामना नर्सिङ होम लहान ४, त्यसैगरी, आदित्य मेडिकेयर सेन्टर लहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी बजार र सहलेश पोली क्लिनिक मिर्चैयाले नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरिरहेको पाइएका छन।
नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि दुई महिनाको समय दिएपनि अटेर गरेकोले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन जेठ २२ गते पत्राचार गरिएको जिल्ला जन स्वास्थ्य अधिकृत उमेशलाल कर्णले बताए। उनले भने, ‘नियम विपरित सञ्चालनमा रहेका सबै स्वास्थ्य कार्यालयलाई सात दिनभित्र संस्था बन्द गरी जिल्ला प्रशासन कार्यलय र स्वास्थ्य कार्यालयमा जानकारी दिन पत्राचार गरिएको छ।’
७ दिनभित्र स्वास्थ्य संस्था बन्द नगरे गैह्रकानूनी रुपमा संस्था सञ्चालन गरेको अभियोगमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने कर्णले बताए। स्वास्थ्य कार्यालय सिरहामा २०७५ भदौ २० गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले नविकरणका लागि २ महिनाको समय तोकेको थियो। यता निजी स्वास्थ्य संस्था सञ्चालकहरुले भने आफूहरुले स्थानीय तहसँग स्वीकृति लिएको र नविकरण गरिरहेको जनाएका थिए।
तर, उनीहरुले स्थानीय तहको कार्यविधिअनुसार १५ शैयाको अस्पतालको नविकरण गर्ने अधिकार भएकोले अहिले त्यहीबाटै नविकरण गराउन दावी गरेको जिल्ला जनस्वास्थ कार्यालय सिरहाले जनाएको छ।



लाेकपाटी न्यूज

