पर्यटन गुरुयोजना निर्माणमा जुट्याे कर्णाली प्रदेश

karnali_pradesh
लाेकपाटी न्यूज

जाजरकोट, २५ जेठ। सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेशले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ। पर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले अब पर्यटन गुरुयोजना निर्माण गर्ने भएको हाे।

पर्यटन गुरुयोजना निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकारले छ जना प्राविधिक विज्ञको टोलीलाई परिचालन गरेको छ। प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा निर्माण गर्न लागिएको पर्यटन गुरुयोजना निर्माणमा कार्यरत प्राविधिकको टोली अहिले कर्णाली प्रदेशका जिल्ला–जिल्लामा योजना तर्जुमा गोष्ठीमा जुटिरहेका छन्। यसैक्रममा जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गामा योजना छलफल भएको छ।

जाजरकोटमा भएको छलफलबाट ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेका र प्राकृतिक सुन्दरताले भरिएका झण्डै ७५ वटाभन्दा बढी पर्यटकीयस्थलको नाम सूचीकृत गरिएको पर्यटन गुरुयोजना निर्माणका समूहका प्रमुख रामचन्द्र सेडाइँले जानकारी दिए।

त्यसैगरी उक्त छलफलले साहसिक पर्यटनका लागि र्‍याप्टिङ र पदमार्गलाई छनोट गरेको छ। जाजरकोटको परिबगरदेखि छेडाचौरसम्म भेरी नदी जलयात्रा छनोट गर्ने क्रममा रिम्ना र छेडाचौरलाई जलयात्राको बास स्थान छनोट गरिएको समूहका प्रमुख सेडाइँले बताए।

भेरी नदी आसपासमा रहेका तल्लुबगर, मन्मै, कालीमाटी, रिम्ना, कालेगाउँ, कुदु, फेरा, आलीलगायतका ठाउँमा होटल, भलिबल तथा ब्याटमिन्टन फिल्डलगायतका विभिन्न मनोरञ्जनात्मकस्थल बनाउन प्रस्ताव गरिएको छ। गोष्ठीले जुम्ला र डोल्पालाई जोड्न चाखुरे र नदईडाबलाई पदमार्गमा छनोट गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्