इमरान खानले लेखे मोदीलाई यस्ताे चिठ्ठी

Imran khan
लाेकपाटी न्यूज

काठमाडौं, २५ जेठ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतलाई वार्ताका लागि प्रस्ताव गरेका छन्। पकिस्तानी प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको लागि प्रस्ताव गरेका हुन्।

इमरान खानले मोदीलाई शुक्रबार पठाएको पत्रमा कश्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको बताए। मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै इमरान खानले भनेका छन्, ‘दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो। यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ।’ पाकिस्तानले कश्मीर मुद्दासहित सबै समस्याको समाधान चाहेको खानले बताएका छन् ।

मोदी पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो। यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन।

पुलवामा आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच तनाव बढेको थियो। पाकिस्तानको बालाकोटमा २६ फेब्रुअरीमा भारतले हवाई हमला गरेपछि दुवै देशबीच युद्ध सुरु हुने स्थितिमा पुगेको थियो। यद्यपि एक भारतीय लडाकु विमानलाई पाकिस्तानले जमिनमा खसालेर त्यसका पाइलटलाई समेत नियन्त्रणमा लिएपछि भारत पछि हटेको थियो। त्यसपछि पाकिस्तानले ती पाइलटलाई ससम्मान भारतलाई सुम्पिएको थियो।

त्यसको केही महिनापछि भारतमा लोकसभाको चुनाव भयो र यो चुनावबाट मोदी दोस्रो कार्यकालका लागि निर्वाचित भए । त्यसलगत्तै पनि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदीलाई बधाई दिए।