प्रधानमन्त्री ओलीे युरोप भ्रमणको तयारीमा, सीके राउत पनि जाने

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, २४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली जुन ८ देखि युरोपको भ्रमणमा जाने भएका छन्। स्वीजरल्याण्डको जेनेभामा विश्व श्रम संगठन, आइएलओको सम्मेलनमा सहभागी भएर जुन १० मा बेलायतको औपचारिक भ्रमणमा जाने कार्यक्रम तय भएको बताइएको छ।

बेलायती प्रधानमन्त्री टेरेसा मे को निमन्त्रणामा बेलायत जान लागेका प्रधानमन्त्री ओलीले बेलायती समकक्षीसमक्ष द्विपक्षीय हितका बारेमा कुराकानी गर्नेछन्। लण्डनस्थित नेपाली राजदुतावासका अनुसार प्रधानमन्त्री ओलीले जुन १० साँझ विश्वकै प्रख्यात अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जुन ११ मा बेलायती प्रधानमन्त्री टेरेसा मे सँग भेटवार्ता गर्ने छन्। मे र ओलीबीचबको उक्त वार्ता द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा केन्द्रित हुने बताइएको छ। प्रधानमन्त्री ओलीले बेलायत सरकारका अन्य पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्ने तयारी भइरहेकोे छ।

बेलायतस्थित नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले १२ जुनमा प्रधानमन्त्रीको सम्मानमा रिसेप्सन आयोजना गरेका छन्। त्यसका लागि दुताबासले बेलायतस्थित विभिन्न संघ संस्था, पत्रकारहरु र बिशिष्ठ व्यक्तिहरुलाई निमन्त्रणा पठाइसकेको छ। त्यसैगरी प्रधानमन्त्री ओलीले बेलायतमा समान सुविधाको माग राख्दै आन्दोलनरत गोर्खा तथा नेपाली समुदायसँग पनि समसामयिक बिषयमा अन्तरक्रिया गर्ने बताइएको छ।

यस्तै कुनैबेला स्वतन्त्र मधेशको आन्दोलन गरेर केहि समय अघिमात्र राजनीतक मुलधारमा आएका मधेशी नेता सीके राउत पनि युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुँदै बेलायत जाने भएका छन्।

समाचार स्रोतका अनुसार मानवअधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन भियना आउने राउत अक्सफोर्ड विश्वविद्यालयमा हुने मानवअधिकार सम्बन्धि कार्यक्रममा प्रमुख वक्ताको रुपमा सहभागी हुनेछन्।