काठमाडौं, २४ जेठ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का सांसद जनार्दन शर्माले लोकसेवाको भर्ना रोक्नु पर्ने बताएका छन्। उनले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत भएको भन्दै यसलाई तत्काल स्थगित गर्नुपर्ने बताए।
समितिको शुक्रबार बसेको बैठकमा पूर्व गृहमन्त्री समेत रहेका शर्माले यो विज्ञापनले संविधान मिचेको बताउँदै उनले भने, ‘संविधानमाथि नै प्रहार भयो। यसो भन्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला तर, विषय चिख्ने र नदुख्ने होइन। यसलाई तत्काल स्थगित गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्छ।’
लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै उनले संवैधानिक अराजकताको स्थिति सृजना भएको बताए। ‘संवैधानिक आयोगकै विरोधमा आन्दोलन हुन थाल्यो। यही हो संवैधानिक अराजकता’ उनले भने, ‘यसले राष्ट्रलाई स्वत संकटमा पर्छ।’
संसदीय समितिले संविधान विरोध हरेक कुरामा छुट दिन नसक्ने भन्दै उनले विज्ञापन रोक्नुपर्ने बताएका छन्। समितिले संविधान विरोधी हुने भएकाले कर्मचारी भर्ना प्रक्रिया रोक्न र काम गर्न समस्या भए ओएनएम गरेर वा करारमा कर्मचारी राखेर काम गर्न भन्नुपर्ने उनले बताए।



लाेकपाटी न्यूज

