अब इलेक्ट्रिक स्कुटरको दर्ता अनिवार्य

electric scooter
लाेकपाटी न्यूज

काठमाडौं, २३ जेठ । यातायात व्यवस्था विभागले विद्युतीय स्कुटरलाई पनि दर्ता गरेर मात्रै सञ्चालन गर्न दिने भएको छ । दुर्घटना न्यूनीकरण तथा सवारीको अभिलेखका लागि विभागले यस्तो व्यवस्था गरेको हो।

सडकमा गुडेका तर कुनै अभिलेख नभएका यस्ता सवारीलाई १५ दिनभित्र विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्ने निर्णय कार्यन्वयन गर्न परिपत्र भएको महानगरीय ट्राफिक प्रहरी प्रमूख एसएसपी वसन्त पन्तले जानकारी दिए । उनका अनुसार हाल सञ्चालनमा रहेका त्यस्ता सवारीले असार ५ गतेसम्म यातायात व्यवस्था विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनुपर्नेछ ।

हेल्मेट तथा नम्बर बिनै चलेका यस्ता सवारी साधन दुर्घटना पर्दा अप्ठ्यारो परेका कारण यस्तो व्यवस्था गरिएकोे उनले बताए । नयाँ नियमअनुसार विदेशबाट खरिद गरी ल्याएको तथा ग्राहकले किनेको १५ दिनभित्रै यस्ता सवारी साधन यातायात व्यवस्था विभागमा अनिवार्य दर्ता गराउनु पर्नेछ ।

एसएसपी पन्तका अनुसार सुरुवाति १५ दिन जनचेतनामुलक कार्यक्रम चलाउने र तोकिएको समयमा दर्ता प्रक्रियामा नआए त्यस्ता सवारीलाई कारबाही थालिने छ ।

दर्ता नभएका विद्युतीय स्कुटरलाई एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरीवाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई छ । नेपालमा हाल कति विद्युतीय स्कुटर सञ्चालनमा छन् भन्ने कुनै अभिलेख रहेको छैन । विभागले सवारी भित्र्याएको १५ दिनभित्र दर्ता गरिसक्न र त्यस अवधिपछि अनटेस्ट सवारीलाई सडकमा नचलाउन भनेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्