काठमाडौं, २३ जेठ। प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले ‘विनियोजन विधेयक, २०७६ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए। सो विधेयकमाथि यही जेठ २७ गतेदेखि आगामी असार ६ गतेसम्म छलफल हुनेछ। सभामुख कृष्णबहादुर महराले दलीय प्रतिनिधित्वका आधारमा छलफल हुने जानकारी दिए। उक्त विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा. खतिवडाले कृषि क्षेत्रको विकासका लागि सरकारले रासायनिक मल आयातलाई थप सहज बनाउन लागिपरेको बताए।
रासायनिक मल आयातलाई व्यवस्थित बनाउन सरकारले (जिटुजी) अवधारणामा काम गर्ने तयारी गरेको समेत उनको भनाइ थियो। अर्थमन्त्रीले बजेट मौलिक हक कार्यान्वयन गर्ने गरी तय गरिएको जानकारी दिए। विधेयकमाथि सांसद प्रेम सुवाल, पार्वती डिसी चौधरीलगायतले बोलेका थिए।
त्यसअघि डा. खतिवडाले ‘विनियोजन विधेयक, २०७६’ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत (तेइसौंँ संशोधन) विधेयक, २०७६’ प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २७ गते बिहान ११ बजे बस्नेछ।



लाेकपाटी न्यूज

