परिर्वतनका लागि जनयुद्ध गर्ने कमाण्डर म पनि हुँ : जनार्दन शर्मा

Janardan Sharma
लाेकपाटी न्यूज

काठमाडौं, २३ जेठ । सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन्।

प्रतिपक्षी दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्धन्द्धका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै उनले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिएका हुन्। उनले संविधान निर्माण लगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमी कमजोरीको सबैले सामूहिक जिम्मेवारी लिनुपर्ने बताए। उनले सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभई गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने बताए।

गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो भएर सुख नपाईने भन्दै उनले सबै जसअपजसको सामूहिक जिम्मेवारी लिनुपर्ने बताए। उनले भने, ‘परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनाश गरे भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु। जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ। त्यसकारण म पूर्ण रुपमा जिम्मा लिन चाहन्छु। त्यसले दिएको उपलब्धि , परिवर्तनका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ ? त्यसकारण गल्तीहरुपनि सामूहिक रुपमा लिउँ। त्यहाँ भएका कमीकमजोरीहरु लिन म तयार छु। र त्यतिबेलाको माओवादी लिन तयार छ। कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ।’

सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्दे नेपाली काँग्रेसले लिएको नीजिकरणलाई तत्कालीन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक वर्षको अवधिमा ९० हजारको रोजगारी श्रृजना भएको दाबी गरेकी थिइन्। सोही क्रममा उनले तात्कालीन माओवादी द्धन्द्धका कारण युवाहरु विदेशिन बाध्य भएको बताएकी थिइन्।

उनले भनिन्, ‘जब नेकपा एमालेले नीजिकरणको विरोध गर्दै गयो, अरुण तेश्रो योजनालाई अघि बढाउ भन्दाखेरी त्यसको विरोध गर्दै गयो र आज आएर भारतसँग ५ सय मेगावाट किनेर रोजगारी श्रृजना गर्ने अवसरलाई गुमायो।नीजिकरणको नीतिलाई गुमायो भने अर्कोतिर माओवादीहरु जंगलमा गएर हिंसात्मक द्धन्द्ध गरेर निजी क्षेत्रलाई ध्वस्त पार्दै गए, युवालाई विदेश जानका लागि बाध्य गरे। निजीकरणको विरोध गरे त्यसको परिणामस्वरुप नेपाली युवाहरु विदेश जान बाध्य भएका थिए। त्यही भएर नेपाली काँग्रेसको समयमा युवाहरु विदेश गए भन्ने तथ्याँक म निवेदन गर्न चाहन्छु, बालुवाटारको प्रधानमन्त्री कार्यालयमा गएर हेरौं।

नेपाली काँग्रेसको समयमा ९० हजार भन्दा बढी युवाहरुले रोजगारी पाएका थिए।’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६र७७ को बजेटमाथिको छलफलमा बोल्न रोष्टम पुगेका सांसद शर्माले सांसद भुसालको अभिव्यक्तिको खण्डन गरेपछि मात्रै विषयवस्तुमा प्रवेश गरेका थिए।