चितवन, २३ जेठ । पश्चिम चितवनको पटिहानीलाई व्यवस्थित गन्तव्य बनाउन जोड दिइएको छ। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पटिहानीमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएपछि व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिइएको हो।
पर्यटन विभागको सहयोग तथा पर्यटक प्रहरी इकाई भृकुटीमण्डप काठमाडौंको आयोजनामा बुधबार पटिहानीमा आयोजित पर्यटक प्रहरी, स्थानीय प्रहरी एवं पर्यटन सम्बद्ध निकायसँग एक दिने अनुशिक्षण कार्यक्रमका वक्ताहरुले पटिहानीलाई सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउनु पर्नेमा जोड दिएका हुन्। प्रमूख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतले कार्यक्रममा बोल्दै पटिहानीमा सबै किसिमका पर्यटक भित्रिने वातावरण तयार पार्नुपर्ने बताएका छन्।
उनले पछिल्लो समय आन्तरिक पर्यटकहरु बढ्दै गइरहेकाले यहाँ पनि आन्तरिक पर्यटकलाई लोभ्याउने वातावरण तयार पार्नुपर्ने बताए। पर्यटन दिगो बनाउन विदेशी पर्यटकलाई जत्तिकै आन्तरिक पर्यटकलाई पनि महत्व दिनुपर्ने बताए। प्रजिअ बस्नेतले सानादेखि ठूला होटलहरु निर्माण हुँदै गए विदेशीसँगै स्वदेशी पर्यटकहरुको आगमन समेत वृद्धि हुनेमा विश्वास व्यक्त गरे। उनले पर्यटकको बसाई लम्ब्याउन इको पर्यटनसँगै सँस्कृतिलाई उजागर गरि कार्यक्रम निर्माण गरिनुपर्नेमा जोड दिए।
उनले पटिहानीमा पर्यटक प्रहरीको आगमनले सुरक्षाको वातावरण बलियो बनेको बताए। उनले छिट्टै पटिहानीमा सिसिटिभीको व्यवस्था समेत गरिने बताए। प्रजिअ बस्नेतले पटिहानीमा पनि लागूऔषध प्रयोगकर्ता प्रवेश गर्ने गरेकाले यसलाई नियन्त्रणमा लिन समुदायले प्रहरीलाई साथ दिनुपर्ने बताए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले पर्यटक प्रहरीले सबैलाई सुरक्षा दिने भएपनि पर्यटकलाई विशेष ध्यान दिने बताए। उनले सबै विदेशी पर्यटक एकै खालका नहुने भएकाले पर्यटन व्यवसायीहरु सचेत हुनुपर्ने बताए।
एसपी मल्लले पटिहानी क्षेत्रमा लागूऔषध प्रयोगकर्ता सल्बलाउन थालेको भन्दै यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताए। उनले भने, –“होटेल होटेलमा लागूऔषध प्रयोगकर्ता पस्यो भने नकरात्मक सन्देश जान्छ, यस्ता घटनाले होटल नै बन्द गर्नुपर्ने हुन्छ, यसमा अहिलेदेखि नै सबै सचेत बन्नुपर्छ।” भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोले पर्यटक प्रहरीको आगमनले समाजमा सकरात्मक प्रभाव परेको बताए।
अध्यक्ष महतोले पटिहानीमा पर्यटकको आगमन बढाउन सँस्कृति जगेर्नातर्फ वडाले ध्यान दिएको बताए। उनले पटिहानीको पर्यटन विकासका लागि छिमेकी पर्यटकीय स्थानहरुको प्रवद्र्धन गर्नु आवश्यक रहेको समेत औँल्याए।
वडा अध्यक्ष महतोले पटिहानीमा पर्यटकीय पूर्वाधारहरुको विकास हुँदै गइरहेकोले यसलाई अझै व्यवस्थित बनाउँदै लैजान वडा लागि परेको बताए। उनले बेलसहर सामुदायिक वनमा बन्द गरिएको जीप सफारी सुचारु गराउन सबै पक्षले ध्यान दिन आवश्यक रहेको बताए। जीप सफारी धेरै समय बन्द भए यहाँको पर्यटन गतिविधि नै प्रभावित हुने भएकाले सबैको ध्यानाकर्षण गराए।
कार्यक्रममा बोल्दै होटेल संघ पटिहानीका अध्यक्ष साजनकुमार महतोले पटिहानीलाई पारिवारिक वातावरणको पर्यटकीय क्षेत्र बनाउन लागि परेको बताए। उनले पर्यटक प्रहरीले पटिहानीको पर्यटनलाई थप टेवा पुग्ने भन्दै यसले व्यवसायीहरुलाई थप आकर्षण गर्ने बताए। उनले बेलसहर सामुदायिक वनमा बन्द भएको जीप सफारी तत्काल खुलाउन माग गरे। पटिहानीमा पछिल्लो समय धमाधम ठूला तथा साना होटलहरु निर्माण भइरहेका छन्। यहाँ एकसिंगे गैँडा, बाघ, गोहीलगायतका जीवजन्तु हेर्न पर्यटकहरु आउने गरेका छन्।



लाेकपाटी न्यूज

