चितवन, २२ जेठ । भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले रंगशालाको डीपीआर आएपछि सडक विस्तारको काम हुने बताएकी छिन्।
उनले स्थानीयको माग सम्बोधन गरेर मात्र रंगशाला निर्माणको काम अगाडि बढाइने बताइन्। वडा कार्यालयबाट सडकको समस्यालाई लिएर पत्र आएपछि महानगरले पत्र पठाएर डीपीआर आएपछि सडक विस्तारको काम हुने जानकारी दिएको थियो। रंगशालाको डीपीआर आएपछि कहाँ, कति सडक छोड्नुपर्छ, त्यो छोड्न तयार भएको जानकारी यसअघि नै गराइएको महानगर प्रमुख रेनु दाहालले बताइन्।
डीपीआर नआउँदै रंगशालाको बार भत्काइनु अत्यन्तै दुःखद् भएको उनको भनाइ थियो। उनले स्थानीयलाई उठिबास लगाइँदैछ भनेर भ्रम फैलाइएको बताइन्। उनले भनिन्, ‘स्थानीयलाई नै उठिबास लगाएर रंगशाला बनाइँदैछ भनेर जुन भ्रम फिजाइँयो, त्यो अत्यन्तै गलत छ। हामीले त रंगशालाको डीपीआर आएपछि सडकलाई छोड्नुपर्ने जग्गा छोड्छौँ भनिरहेका थियौँ, तर अचानक रंगशालाको बार भत्काइनु दुःखद भयो।
महानगर प्रमुख रेनु दाहालले यसअघि भरतपुर १५ मा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुले गरेको तोडफोड र डोजर लगाएर सार्वजनिक सम्पत्ति क्षति पु¥याउने कार्य गरिएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएकी थिइन्। ‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु।
महानगरको तर्फबाट यस गैह्रकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारबाही गर्न विज्ञप्तिमा भनिएको छ। यसअघि भरतपुर १५ मा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार डोजर लगाएर भत्काउने समूहलाई कडा कारबाहीको माग गरिएको छ। वडा नं १५, १६ र १७ का नेकपाका स्थानीय नेताहरुले विज्ञप्ति जारी गरी अराजक समूहले डोजर लगाएको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ,नेकपा पार्टीको नाम जोडिएर केही नामहरु सार्वजनिक भएकोमा ती व्यक्तिहरुको पनि निष्पक्ष छानविन गरी पार्टीको सांगठनिक कारबाहीको लागि वडा नं. १५, १६ र १७ जोडदार माग गर्दछौँ। विज्ञप्तिमा रंगशाला निर्माणको लागि सहज वातावरण बनाउन लागि पर्ने जनाइएको छ।



लाेकपाटी न्यूज

