कास्की, २२ जेठ । गण्डकी प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाभरी गरेका प्रहरी गतिविधिहरुलाई समेटेर तयार पारिएको “अञ्जुली” नामक पुस्तकको मंगलबार विमोचन गरेका छन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बोहराले समाजमा शान्ति सुरक्षा तथा अमनचयन गर्ने कार्य प्रहरी एक्लैको प्रयासले मात्र सम्भव हुन नसक्ने बताउँदै यसका लागि आमनागरिकको सहयोग अपरिहार्य हुने उल्लेख गरे।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले विभिन्न समयमा अवलम्वन गरेका विभिन्न नीति तथा अवधारणाहरुले प्रहरी र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै लगेको बताउँदै समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समेत यस कार्यमा अझ ठूलो भूमिका निर्वाह गर्ने बताए।
नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामजिक संघसंस्था र विद्यालयको समन्वयात्मक भूमिकाबाट समाजमा व्याप्त विकृतिहरुलाई निराकरण गर्ने उद्देश्यले लागू गरिएको समुदाय–प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीले हालसम्म गरेका विभिन्न जनमुखी गतिविधीहरुलाई पुस्तकको माध्यमबाट आमनागरिकसम्म पुर्याउने उद्देश्यले उक्त पुस्तक तयार पारिएको हो ।



लाेकपाटी न्यूज
