काठमाडौं, २२ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भ्रष्टाचार गर्नेहरुलाई सडकमा पुर्याएर छाड्ने बताएका छन्। कतिपय कर्मचारी भ्रष्ट भएकै कारण भ्रष्टाचार बढेको भन्दै उनले त्यस्ता भ्रष्टलाई सडकमा पुर्याउने र त्यसो गर्दा पार्टीले कारवाही गरे बारी खनेर खाने बताएका हुन्।
मेयर चौधरीले एक पत्रकारलाई नाकको हड्डी बाँच्न एक करोड बजेट छुट्याएको भनेपछि उनको जताततै चर्चा चल्न थालेको छ। नेकपाकै नेताहरुले पनि उनलाई सार्वजनिक रुपमा आत्मालोचना गर्न सुझाव दिएका छन्।
तर, उनी भने आफू भ्रष्टाचार विरुद्धको अभियन्ता भएको बताउँदै भ्रष्टाचारीहरुलाई तह लगाउन हदैसम्मको कदम चाल्ने बताउँछन्। उनले भनेका छन्, ‘भ्रष्टहरुलाई सडकमा पुर्याएर छाड्छु, पार्टीले कारवाही गरे बारी खनेर खान्छु।’
उनले पत्रकारले सत्यतथ्य पत्रकारीता भन्दा पनि केही भ्रष्ट नेताको इशारामा लागेर आफूलाई बदनाम गर्न खोजेको र भ्रष्टहरुलाई साथ दिएको आरोप लगाएका छन्।
उनले भने, ‘पत्रकारहरू पनि स्वार्थी नेताहरूको इशारामा बैठक गरेर, मलाई बदनाम गर्ने गरी कलम चलाउँदै आएका छन्। पीत पत्रकारिता गरेका छन्। त्यस्तो पत्रकारिता गर्नेलाई मैले चाटुकारिता, पीत पत्रकारिता भनेर भने। अनि त्यसपछि मलाई फोन गरेर गाली गरियो। मैले भनेँ, मैले बुझिसकेको छु, कसको इशारामा, कसको हन्डी खाएर चाटुकारिता र पत्रकारिता गर्दैछौ।’ उनले पत्रकारीताका नाममा पीत पत्रकारीता गर्नेहरुलाई आफूले जनकारवाही सुरु गरेको बताएका छन्।



लाेकपाटी न्यूज

