सचिवालय बैठक सकियाे

Prachanda-Oli.jpg01
लाेकपाटी न्यूज

काठमाडाैं, २२ जेठ। केन्द्रीय कमिटी सदस्यकाे कार्यविभाजन र  जिल्लाका इन्चार्ज–सहइन्चार्जबारे छिनोफानो गर्न  बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक निष्कर्षमा नपुगी सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको सचिवालय बैठक नेताहरुलाई दोहोरो जिम्मेवारी दिने वा नदिने भन्ने विषयमा मत नमिलेपछि बिना निष्कर्ष टुंगिएको हो।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्ला कमिटीमा इन्चार्ज र सह–इन्चार्ज चयन र चयनका नीतिबारे विभिन्न पाटा र पक्षहरुबाट छलफल भएको बताए। ‘आज प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण लामो समय छलफल गर्न नसकिएकाले भोलि बिहान ९ बजे बसेर जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउने र त्यसपछि अरु विभाग र केन्द्रीय समितिबारे छलफल गर्छौं,’ श्रेष्ठले भने।

उनले छलफल हुँदैमा नेताहरूबीच विवाद छ भनिहाल्न नमिल्ने उल्लेख गर्दै छलफल भने धेरै कोणबाट भएको बताए। तर भोलि पनि जिल्ला इन्चार्ज र सहइन्चार्जबारे सहमति हुन्छ भन्नेमा यही भन्न सकिने अवस्था नरहेकाे उनले बताए।