विप्लव नेकपाद्वारा भक्तपुरमा जग्गा कब्जा (विज्ञप्तिसहित)

लाेकपाटी न्यूज

काठमाडौं, २२ जेठ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा कब्जा गरेको छ। सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल भएको जग्गा जिल्ला जनपरिषद भक्तपुरले कब्जा गरेको हो।

सो जग्गा चाँगुनारायण–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको छ। अनपढ महिलालाई दबाब र प्रलोभन दिएर जग्गा भूमाफियाले कब्जा गरेको र ती महिलाले न्याय नपाएपछि पार्टीमा उजुरी गर्न आएपछि जग्गा कब्जा गरेको भक्तपुर जिल्ला जनपरिषद् प्रमुख एससीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

परिषद्ले सो जग्गामा झण्डा गाड्नुका साथै ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन। अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानरसमेत गाडेको छ।

परिषद्मा उजुरी परिपछि सोही क्षेत्रमा गएर स्थानीय बुद्धिजीवी, समाजसेवी र भद्रभलादमीको छलफलमा महिलामाथि अन्याय भएको प्रमाणित भएपछि सो जग्गा कब्जामा लिएको विज्ञप्तिमा उल्लेख छ। परिषदले पैसा र पहुचका आधारमा जग्गामाथि चलखेल गरे कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।