मेयर चौधरीलाई बर्खास्त गरिनुपर्छ : परशुराम बस्नेत

Parsuram Basnet
लाेकपाटी न्यूज

काठमाडौं, २२ जेठ। एमाले युवा संघका केन्द्रीय नेता परशुराम बस्नेतले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई राजिनामा दिनुपर्ने बताएका छन्।उनले मेयर चौधरीले आफ्नो नाम जोडेर पत्रकारलाई धम्क्याइएको भन्दै आपत्ति प्रकट गरेका हुन्।

नेता बस्नेतले इटहरीका मेयर चौधरीलाई पार्टी र जनप्रतिनिधिको दुवैको जिम्मेवारीबाट बर्खास्त गर्न माग गरे। उनले भने, ‘यस्ता अराजक जनप्रतिनिधिलाई राज्य र पार्टी दुबैबाट कारबाही गरी बर्खास्तसमेत गर्न जोड्दार माग गर्दछु।’

‘मिडियाप्रति इटहरीका मेयर चौधरीबाट भएको व्यवहारको निन्दा गर्दछु’, उनले भने। आफू राजनीतिक व्यक्ति भएकाले गैरराजनीतिक विषयमा विश्वास नगर्ने र आफूसँग यस विषयमा मेयर चौधरीसँग कुनै सम्पर्क नरहेको बस्नेतले बताए।

‘म एक राजनीतिक व्यक्तिले गर्ने चरित्रमा मात्र विश्वास गर्छु। उहाँले के कति कारणले मलाई मुछ्नु भयो यो कुरा राजनीतिक चरित्र होइन’, उनले भने, ‘मिडियालाई गरेको व्यवहारसँग मेरो आपत्ति छ। उहाँले जुन हर्कत गरिरहनु भएको छ, त्यो निन्दनीय व्यवहार हो। उहाँमाथि कारवाही गर्नुपर्छ भन्ने कुरा स्पष्ट पार्न चाहन्छु।’

सोमबार साँझ सामाजिक संजाल फेसबुकमा समेत स्टाटस लेख्दै बस्नेतले मेयर चौधरीले आफ्नो नाम उच्चारण गरी पत्रकारलाई धम्की दिएको भन्ने भनाइप्रति आपत्ति जनाए। बस्नेतले लेखेको फेसबुक स्टाटसमा भनिएको छ ‘समाजिक संजाल र केही मिडियामा इटहरीका मेयरले मेरो नाम जोडेर पत्रकार मित्रलाई धम्क्याएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले साइनो सम्बन्ध बेगर नै नाम जोडेर पत्रकारलाई धम्क्याउने काम मेयर चौधरीले गरेको भए उनले मानसिक सन्तुलन गुमाएको हुनपर्नेु उल्लेख गरेका छन्।

इटहरीकै पत्रकार विराट अनुपमलाई मेयर चौधरीले बारम्बार फोन गरी परशुराम बस्नेतलाई सुपारी दिइसकेको र आफ्नो सुरक्षा आफै गरु भन्दै धम्की दिएका थिए। सोमबार दिउँसो १ बजेतिर फोन गरेरै मेयर चौधरीले परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेकाले सुरक्षित हुनु भन्दै धम्क्याएका थिए। उनले ‘तेरो नाकको हड्डी भाँचिदिन्छु’ भन्दै त्यसको लागि मान्छे पारिचालन गरिसकेको धम्की दिएका थिए।