काठमाडौं, २२ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाँड इद उलफित्रको शुभकामना दिएका छन्। उनले इदले सबै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास व्यक्त गरेका हुन्।
इल उलफित्रको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले रमजानको अवसरमा एक महिनाभर भोक तिर्खा बिर्सेर गरिने भक्तिले आदर्श जीवनयापनको माग देखाएको उल्लेख गरे। नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको बताए।
‘उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर छ’, सन्देशमा भनिएको छ। संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति सन्देशमा उल्लेख छ।
सन्देशमा प्रधानमन्त्री ओलीले देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको समेत स्मरण गराए।



लाेकपाटी न्यूज

