काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति र धर्मको साझा प्रयासबाट नै समृद्धि हासिल गर्न सकिने बताएका छन्।
मुस्लिम समुदायको महान् चाड इद उल—फित्रको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्। सन्देशमा प्रचण्डले लेखेका छन्, ‘सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ।’
यस्तो छ प्रचण्ड शुभकामना
मुस्लिम समुदायको महान् चाड इद उल—फित्रको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस चाडले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि सन्देश दिएको छ। देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो।
हामी देशको आर्थिक समृद्धिको चरणमा छौं। लामो समयको प्रतीक्षापश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ। सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ।
यस चाडले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु। यस पर्वका अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।’



लाेकपाटी न्यूज

