बुटवल, २१ जेठ । राप्रापाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देशका शबै शक्ति अट्ने गरी गोलमेच सम्मेलन गर्नुपर्ने माग गरेका छन् । उनले राजादेखि विप्लव माओवादीलाई समेत समेट्ने गरी गोलमेच सम्मेलन आजको आवश्यकता भएको बताए ।
आज बुटवलमा राप्रपा प्रदेश नं ५ कार्यालयको उद्घाटन गर्दै अध्यक्ष थापाले १२ वर्षको लोकतन्त्रको अभ्यासको अवधिमा देश र जनताको विकास र समृद्धिको पक्षमा कुनै काम हुन नसकेको दुःखेसो गरे ।
उनले देश ऋणबाट चलेको भन्दै यस्ताे दयनीय अवस्थामा सरकारबाट अर्थतन्त्र उकास्ने गरी योजना ल्याउन नसक्नु दुःखद भएको बताए । देशमा सतही विकास भएको भएपनि ठूलो र दरो विकास हुन नसकेको उनले बताए । तथ्याँकबाट नै गरिब र धनीका बीचमा खाडल बढ्दै गएको पुष्टि भइसकेकाे र यसलाई सम्बोधन गर्न सरकार चुकेको बताए ।
भारतमा मोदी नेतृत्वको सरकार बहुमतबाट बनेको विश्लेषण गर्दै उनले नेपालमा राप्रपाले पनि समृद्धि र हिन्दुराज्यको मुद्धा बोकेकोले अबको निर्वाचनमा बहुमत आउन सक्ने ठोकुवा गरे ।
कार्यक्रममा पूर्वमन्त्री तथा पार्टी उपाध्यक्ष दिपक बोहराले पछिल्लो निर्वाचनमा जनताले पार्टीलाई एकतावद्ध गर्न म्याण्डेट दिएको बताए । पार्टीको क्रियाकलाप र नीति नै राष्ट्रवाद भएको भन्दै उनले टुटफुट हटाउन सके देशमा अबको सरकार बनाउने काम राप्रपाले गर्ने समेत उनले दाबी गरे ।



लाेकपाटी न्यूज

