काठमाडौं, २१ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले ठूला भ्रष्टाचार घटनामा राष्ट्रिय सहमति हुने गरेको बताएका छन्। उनले राष्ट्रिय सहमति बिना ठूला घोटाला हुन नसक्ने दाबी गरे।
कानूनको पालनामा भएको बलमिच्याईका कारण राज्य र समाजमा ब्यापक विकृति देखिएको बताए। ‘अरब भन्दा माथिको भ्रष्टाचार व्युरोक्रेसीले मात्र गर्छ ?’ उनले प्रश्न गरे ‘यद्यपी कारबाही भयो भने ब्युरोक्रेसीको मान्छे पर्छन्, माथिको मान्छे कम पर्ने गरेका छन्। तर, यो निसन्देह भन्न सकिन्छ ठूला घोटाला एक्लै हुँदैन, एक हिसाबले भन्न सकिन्छ, त्यो राष्ट्रिय सहमति बन्छ।’
मंगलबार संसदमा बजेट छलफलमा भाग लिँदै उनले राजनीतिक दलभित्र फस्टाएको दलाल पुँजीवादका कारण समाज विस्तारै भ्रष्टाचारमा फस्दै गएको बताए। ‘राजनीतिक पार्टी माथिदेखि तलसम्म दलाल पुँजीवादको प्रक्रियामा मिसिएका छन् तिनले हाम्रो समाजलाई निरन्तर करप्ट बनाउँदैछन्’ उनले भने ‘उनीहरु आफू करप्ट छैनन्, अरुलाई करप्ट बनाउँदैछन्।’
दलहरुकै कारण समाजमा भ्रष्टाचार बलियो हुँदै गएको भन्दै उनले वलशाली भ्रष्टाचारका कारण समाज भ्रष्टाचारको दुष्चक्रमा फस्दै गएको बताए। ‘यो नतोड्ने हो भने ऐतिहासिक रुपले राजाले सुरु गरेको, हामीले नियन्त्रण गर्न नसकेको, जानेर नजानेर त्यसमा (भ्रष्टाचारमा) पस्दै गएको दुष्चक्र निरन्तर बढिरहने जस्तो देखिन्छ’ भुसालले भने।दलाल पुँजीवादको जञ्जालले हाम्रो विकास र स्वतन्त्रतालाई निरन्तर खुम्च्याइरहेको भन्दै भुसालले यस विषयमा गम्भीर हुनुपर्ने बेला आएको बताए।



लाेकपाटी न्यूज

